काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा नेपालले उल्लेख्य सुधार गरेको बताएका छन्।
स्वीट्जरल्याण्डको जेनेभामा आयोजित ११३ औँ अन्तरराष्ट्रिय श्रम सम्मेलनलाई रोजगारदाताको तर्फबाट सम्बोधन गर्दै अध्यक्ष ढकालले लगानीका लागि भएका कानुनी सुधार र नेपालमा रहेका अवसरका बारे विश्व समुदायलाई जानकारी गराएको उनको सचिवालयले जनाएको छ।
यसैगरी, अर्थतन्त्रको औपचारिकीकरणमा नेपालले गरिरहेको प्रयासको विश्व मञ्चमा प्रशंसा भएकोमा अध्यक्ष ढकालले खुसी व्यक्त गरे। औपचारिक अर्थतन्त्र विस्तारका लागि नवीन सोचसहित काम गरेकोमा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)ले नेपाल, जिम्बाव्वे, कोट डे भाँ, युरुग्वे र नामिबियाको प्रशंसा गर्दै प्रतिवेदन सार्वजनिक गरेको छ।
नेपालको अर्थतन्त्रको औचारिकीकरणका लागि महासंघ, ट्रेड युनियन र सरकारले समिति बनाएर काम गरिरहेको समेत अध्यक्ष ढकालले बताए। उनले प्राइभेट इक्विटी, भेन्चर क्यापिटल र जलवायु वित्तमा अन्तर्राष्ट्रिय सहभागिताका लागि आग्रह गरे।
महासंघको आग्रहमा करिब ३० वटा लगानी सम्बद्ध कानुनमा परिमार्जन गरिएको र द्विपक्षीय लगानी सम्झौताको खाका तयार भएको जानकारी गराए।
सम्मेलनमा विश्वका १८७ मुलुकका सरकार, रोजगारदाता एवं ट्रेड युनियनका प्रतिनिधि सहभागी छन्। नेपालमा रोजगारदाताको संस्थाको रुपमा रहेको महास.घका अध्यक्ष ढकालले नीतिगत सुधारसँगै नेपालको भौगर्भिक विविधता एवं भौगोलिक अवस्थितिले लगानीको पर्याप्त अवसर रहेको जानकारी गराए।