काठमाडौं। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा कर्जा प्रवाहमा राखेको लक्ष्य प्राप्ति नहुने सम्भावना बढेको छ। चालू वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले निजी क्षेत्रतर्फ जाने कर्जा वृद्धिदर १२.५ प्रतिशतसम्म रहने प्रक्षेपण गरेको थियो।
तर, चालू वर्षको १० महिना अर्थात् वैशाखसम्म बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ७.३ प्रतिशतले मात्रै बढेको छ। उक्त अवधिमा निजी क्षेत्रमा प्रवाहित कर्जा ३ खर्ब ६८ अर्ब ६८ करोड रुपैयाँले बढेको हो। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २ खर्ब २५ अर्ब २४ करोड (४.७ प्रतिशत)ले बढेको थियो।
तरलताको सहज उपलब्धता, घट्दो ब्याजदर र बढ्दो पर्यटक आगमन अवस्थामा राजनीतिक स्थिरता कायम भई सरकारको पँुजीगत खर्चमा वृद्धि र लगानी वातावरणमा सुधार हुने अपेक्षाको फलस्वरुप लगानीकर्ताको आत्मविश्वास बढ्न गई आर्थिक वर्ष २०८१/८२ मा निजी क्षेत्रतर्फ जाने कर्जा प्रवाहमा सुधार हुने अपेक्षा राष्ट्र बैंकको थियो।
तर, १० महिनासम्म ७.३ प्रतिशत अर्थात् लक्ष्यभन्दा ५.३ प्रतिशत कम कर्जा वृद्धि भएको राष्ट्र बैंकद्वारा सार्वजनिक मुलुको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांकले देखाएको हो।
यस्तै, वार्षिक बिन्दुगत आधारमा २०८२ वैशाखमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ८.४ प्रतिशतले बढेको छ। २०८२ वैशाखमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.१ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.९ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.७ प्रतिशत र ३६.३ प्रतिशत रहेको थियो।
घरजग्गा धितो सुरक्षणमा ६५.१ प्रतिशत कर्जा
समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकको कर्जा प्रवाह ७.६ प्रतिशतले, विकास बैंकको ४.१ प्रतिशतले र वित्त कम्पनीको कर्जा प्रवाह ६.५ प्रतिशतले बढेको छ।
२०८२ वैशाखसम्म बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये चालू सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु) को सुरक्षणमा १४.६ प्रतिशत छ भने घरजग्गा धितो सुरक्षणमा ६५.१ प्रतिशत रहेको छ।
२०८१ वैशाखसम्म यस्तो धितोमा प्रवाहित कर्जा अंश क्रमशः १२.१ प्रतिशत र ६८.५ प्रतिशत थियो। आर्थिक वर्ष २०८१/८२ को दस महिनामा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ९.० प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १२.३ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ४.९ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ११.९ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ७.९ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा ८.८ प्रतिशतले बढेको छ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ५.१ प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा ३९.३ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा ५८.१ प्रतिशतले, हायर पर्चेज कर्जा ४.१ प्रतिशतले, नगद प्रवाह कर्जा ३.४ प्रतिशतले र रियलस्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ५.२ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा १२.९ प्रतिशतले घटेको छ।