काठमाडौं। भारतको अहमदाबादमा दुर्घटना भएको एयर इन्डियाको बोइङ ७८७ ड्रिम लाइनर जहाज १५ वर्षपछि पहिलो पटक दुर्घटना भएको हो। भारतबाट प्रकाशित दैनिक भास्करका अनुसार भारतको इतिहासमा १५ वर्षपछि बोइङ ७८७ ड्रिम लाइनर जहाज दुर्घटनामा परेको हो।
यस घटनासँगै बोइङ ७८७ विमानको १५ वर्षको इतिहासमा पहिलो पटक दुर्घटना भएको घटना बनेको छ। यसअघि विभिन्न प्राविधिक गडबडीहरूको सामना गरे तापनि ड्रिमलाइनरका जहाजहरूले यति गम्भीर दुर्घटना खेप्ने परेको थिएन।
अहमदाबादबाट लण्डन उडेको विमान २ मिनेटमै दुर्घटनामा परेको थियो। जहाजमा २४२ जना यात्रु सवार थिए। विमान टेकअफ हुनासाथ विमानस्थलको बाउन्ड्रीवाल नजिकै रहेको एयर कस्टम कार्गो अफिस भवनमा ठोक्किएको थियो। विमान दुर्घटनासँगै धुवाँको मुस्लो फैलिएर आगलागी भएको थियो।
के हो बोइङ ७८७ ड्रिम लाइनर?
बोइङ ७८७ विमान ड्रिम लाइनर एक आधुनिक, मिडसाइज, ट्विनइञ्जिन, वाइडबडी जेट विमान हो। बोइङ कम्पनीद्वारा निर्मित यो विमान विशेष रूपमा लामो दूरीको उडानका लागि डिजाइन गरिएको हो। ड्रिम लाइनर पुरानो बोइङ ७८७ को स्थान लिन ल्याइएको थियो। इन्धन दक्षताको दृष्टिले यो विमान अन्य विमानभन्दा २०-२५ प्रतिशत कम इन्धन खपत गर्छ।
ड्रिम लाइनर परियोजना सन २००३ मा ‘७ ई ७’ नामले सुरु गरिएको थियो। पाँच लाख अनलाइन मतदाताहरूले यसको नाम ड्रिम लाइनर राख्न सुझाव दिएका थिए। यसको पहिलो उडान सन २००९ मा भएको थियो। सन् २०११ मा जापानको अल निपोन एयरवेजले पहिलो विमान प्राप्त गरेको थियो। हाल यो विमान विश्वका विभिन्न प्रमुख एयरलाइन्समा प्रयोग भइरहेको छ।
भारतसँगको सम्बन्ध
एयर इण्डिया भारतको पहिलो ड्रिम लाइनर प्रयोगमा ल्याउने एयरलाइन्स हो। सन् २०१२ मा एयर इण्डियाले अमेरिकाको साउथ क्यारोलिना प्लान्टबाट पहिलो बोइङ ७८७ विमान लिएको थियो। हाल यो विमान दिल्ली-न्युयोर्क, मुम्बई‑लन्डनलगायतका लामो दूरीका रुटमा उडान भर्दै आएको थियो।
विमानको क्षमता र प्रविधि
यो विमान एक पटकमा २०० देखि २५० यात्रु बोक्न सक्ने क्षमताको छ। करिब १४ हजार किलोमिटर दूरीसम्म निरन्तर उडान भर्न सक्छ। यसको संरचना ५०५ कार्बन फाइबर कम्पोजिट सामग्रीबाट बनेको हुँदा हलुका तर बलियो हुन्छ।
विमानको इञ्जिन
बोइङ ७८७ मा रोल्स‑रोयस ट्रेन्ट १००० वा जनरल इलेक्ट्रिक (जीइएनएक्स) इञ्जिन जडान गरिएका हुन्छन्। जसको ६० प्रतिशत कम आवाज आउँछ। विमानको क्रुज स्पिड म्याक ०.८५ छ। यसको पखेटा डिजाइन विशेष छ। पङ्खामाथि मोडिएको छ। जसले हावाको प्रतिरोध कम गर्छ र टर्बुलेन्स घटाउँछ।
के-के छ सुविधा?
ड्रिम लाइनरमा विभिन्न एयरलाइन्सले फरक सिट लेआउट राखेका छन्। जस्तै अल निपोन एयरवेजमा ३२ बिजनेस, १४ प्रिमियम इकोनोमी र १३८ इकोनोमी सिट छन्। कतार एयरवेजमा ३‑३‑३ को इकोनोमी लेआउट देखिन्छ। यात्रुहरूलाई व्यक्तिगत टिभी, यूएसबी चार्जिङ पोर्ट, पावर आउटलेट, शान्त वातावरण र कम कम्पन अनुभव हुन्छ।
वातावरणमैत्री
यो विमानले पारम्परिक विमानको तुलनामा ५० प्रतिशत कम कार्बन उत्सर्जन गर्छ। यसका इञ्जिनहरू ६० प्रतिशत कम आवाज उत्पन्न गर्छन्। जसले विमानस्थल आसपासका क्षेत्रमा ध्वनि प्रदूषण कम गर्छ। यसको निर्माण अमेरिकाको दक्षिण क्यारोलिनास्थित नेट‑जीरो कार्बन उत्सर्जन गर्ने प्लान्टमा गरिन्छ।