काठमाडौं। प्याराग्लाइडिङका पाइलटहरुले आगामी दिनमा उडानअघि अनिवार्य मादक पदार्थ सेवन (मापसे) र लागू पदार्थ सेवन(लापसे) जाँच गर्नुपर्ने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल हवाई खेलकुद संस्था(ना)लाई पत्रचार गर्दै उडानअघि पाइलटको अनिवार्य रुपमा मापसे र लापसे चेकजाँच अनिवार्य कार्यान्वयन गराउन निर्देशन जारी गरेको हो।
पछिल्लो केही वर्षयता प्याराग्लाइडिङका दुर्घटना बढेकाले त्यसको नियन्त्रणका लागि उडानमा संलग्न पाइलटको मापसे र लापसे जाँच सुरु गरिएको प्राधिकरणअन्तर्गतको मनोरञ्जनात्मक उड्डयन शाखाका प्रमुख ज्ञानेन्द्र भुलले जानकारी दिए।
मनोरञ्जनात्मक उड्डयन नियमावली, २०६९ को नियम २३(ग) बमोजिम त्यस संस्थाअन्तर्गतका कम्पनीमार्फत व्यवसायिक उडान गर्दा यात्रुबाट लिने भाडा दर यथासक्य चाँडो सार्वजनिक गरी कार्यान्वयन अवस्थाबारे पाँच दिन्भित्र प्राधिकरणमा अनिवार्य जानकारी गराउनसमेत निर्देशन दिइएको उनले बताए। प्राधिकरणले जेठ २७ गते पत्र पठाउँदै नालाई तत्काल कार्यान्वयनमा लैजान निर्देशन दिइएको र त्यहीअनुसार काम भइरहेको उनको भनाइ थियो।
प्याराग्लाइडिङ उडानमा संलग्न पाइलटहरुलाई मापसे जाँच अनिवार्य गराएपछि के पाइलटहरुले मदिरा सेवन गरेर उडान गरिरहेका हुन्छन्? भन्ने प्रश्न उठ्न थालेको छ।
यस्तै, प्याराग्लाइडिङ अवतरणलाई थप व्यवस्थित गर्न उडान अवधिभर आपतकालीन अवस्थामा उद्धारका लागि फेवाताल किनारमा २ वटा वाटरबोट ( उद्धारकर्तासहित)को व्यवस्था गर्न सबै कम्पनीलाई निर्देशन दिएको छ। विं.सं. २०७९ असोजमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको क्रममा दुर्घटना हुँदा एक जना प्याराग्लाइडिङ खेलाडीको मृत्यु भएपछि उडानमा कडाइ गरेको थियो। यसअघि पनि पटक‑पटक प्याराग्लाइडिङ दुर्घटना भएपछि सुरक्षा मापदण्ड फितलो बनाएको भन्दै प्राधिकरणको विरोध भइरहेको थियो।
के मापसे गरेर उडाउँछन् प्याराग्लाइडिङ?
प्याराग्लाइडिङ उडानमा संलग्न पाइलटहरुलाई मापसे जाँच अनिवार्य गराएपछि के पाइलटहरुले मदिरा सेवन गरेर उडान गरिरहेका हुन्छन्? भन्ने प्रश्न उठ्न थालेको छ। पछिल्लो केही वर्षयता धेरै दुर्घटना हुन थालेपछि प्राधिकरणले गरेको अध्ययनमा केही पाइलटले मदिरा सेवन गरेको पाइएको बताइएको छ। यद्यपि, प्रतिवेदनका आधारमा सार्वजनिक गरेको छैन।
प्राधिकरणले गरेको आन्तरिक छानविनको क्रममा केही पाइलटमा मादक पदार्थ सेवन गरेको पाइएकाले पनि त्यसलाई कडाई गरिएको जनाएको छ। आकाशमा उड्ने होस् या गुड्ने जो कोहीले मादक पदार्थ सेवन गर्नु गलत भएको भन्दै प्राधिकरणलाई जहाजका पाइलट सरह मापसे र लापसे जाँच सुरु गरिएको जनाएको छ।
यता केही प्याराग्लाइडिङ सञ्चालकले पनि पाइलटले उडानअघि मापसे नगरे पनि त्यसको अघिल्लो राति गर्ने गरेको स्वीकार गर्छन। विभिन्न रिसोर्ट तथा होटलमा राति अबेरसम्म पाइलटहरुले काम गर्ने गरेको र राति केही मात्रामा मापसे गरेर बिहानै उडानमा जाने हुँदा जाँचमा मापसेको भेटिने गरेको ती सञ्चालकको भनाइ छ। ‘मापसे र लापसे गरेर उडान गर्नु गलत हो,’ ती सञ्चालकले भने, ‘प्राधिकरणले गरेको कडाईलाई आत्मासाथ गर्दै उडान गर्ने छौँ।’ अधिकांश प्याराग्लाइडिङ कम्पनीहरुले होटल तथा रिसोर्ट पनि सञ्चालन गर्ने गरेको र पाइलटहरुले काम पनि त्यही गर्ने गरेका छन्।
भाडा दर सार्वजनिक गर्नुपर्ने
प्याराग्लाइडिङ उडानलाई व्यवस्थित बनाउन प्राधिकरणले सबै कम्पनीलाई भाडा दर सार्वजनिक गर्न निर्देशन दिएको छ। भाडा दरमा समान बनाउने उद्देश्यका साथ सबै कम्पनीलाई अनिवार्य सार्वजनिक गर्दै प्राधिकरणलाई बुझाउनुपर्ने छ।