काठमाडौं। इजरायलले छिमेकी इरानमाथि सैन्य आक्रमण गरेको छ। आज बिहान इरानको आणविक हतियार योजना र लामो दूरीका मिसाइल कारखानालाई लक्ष्य गरेर हमला गरिएको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले जानकारी दिएका हुन्।
प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले हमलालाई ‘अपरेसन राइजिङ लाइअन’ दिँदै इजरायलको ‘अस्तित्वका लागि’ इरान खतरा भएको प्रतिक्रिया दिएका छन्। आणविक हतियार योजना र मिसाइल कारखाना नष्ट नपारुन्जेल इरानमाथि आक्रमण जारी रहने इजरायली प्रधानमन्त्रीले चेतावनी दिएका छन्।
इजरायली प्रधानमन्त्रीको घोषणासँगै मध्यपूर्वमा प्रतिद्वन्द्वी दुई देशबीच युद्धका त्रास फैलिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। इजरायलले इरानका ६ वटा सैन्य आधार इलाकालाई लक्षित गरेर आक्रमण गरेको अलजजिराले बताएको छ।
इजरायलले आक्रमण गरेलगत्तै अमेरिकी विदेशमन्त्री मार्को रुबिओले वक्तव्य जारी गर्दै मध्यपूर्वमा रहेको अमेरिकी सैन्य अखडामाथि आक्रमण नगर्न इरानलाई चेतावनी दिएका छन्। उनले इजराइलले इरानमा गरेको आक्रमणमा अमेरिकाको कुनै संलग्नता नरहने पनि बताएका छन्।
अमेरिकाले यसअघि नै मध्यपूर्वी देशबाट आपतकालीनबाहेकका अधिकारीलाई फिर्ता बोलाइसकेको छ। इराक, बहराइन र कुवेतस्थित अमेरिकी दूतावासमा सीमित कर्मचारी राखेर अरुलाई फिर्ता बोलाइएको राष्ट्रपति ट्रम्पले बुधबार मात्रै जानकारी गराएका थिए।
बुधबार नै इरानका रक्षामन्त्री ब्रिगेडियर जनरल अजिज नासिरजादेले अमेरिकासँगको आणविक वार्ता असफल भए र द्वन्द्व भड्किए अमेरिकाले ठूलो क्षति बेहोर्नुपर्ने चेतावनी दिएका थिए। इरानको सरकारी टेलिभिजनले इजरायलले शुक्रबार बिहान गरेको आक्रमणमा तेहरानस्थित ‘इस्लामिक रिभोलुसनरी गाड्र्स’ को मुख्यालयलाई पनि लक्षित गरिएको जनाएको छ।
इस्लामिक रिभोलुसनरी गाड्र्स इरानको सशस्त्र बलअन्तर्गतको बलियो र प्रभावशाली शाखा हो, जसले देशको आन्तरिक सुरक्षा, विदेश नीति र आणविक कार्यक्रममा समेत गहिरो रुचि राख्छ।
तेहरानको मुख्य अन्तर्राष्ट्रिय विमानस्थल, इमाम खोमेनी अन्तर्राष्ट्रिय विमानस्थलबाट सबै उडान स्थगित गरिएको इरानी सञ्चार माध्यमले जनाएका छन्। इरानको परमाणु कार्यक्रममा हमला गरेको इजरायली डिफेन्स फोर्सले बताएको छ। इरानमाथि सैन्य आक्रमण गरेपछि इजरायलले देशभर संकटकाल घोषणा गरेको छ।
इरानी सरकारी मिडियाका अनुसार इरानी रिभोलुसनरी गार्डसका प्रमुख हुसेन सलामीको इजरायली आक्रमणमा मृत्यु भएको छ। उनी आक्रमणमा मारिएका धेरै वरिष्ठ नेतामध्ये एक हुन्।
आणविक ऊर्जा संगठनका पूर्वप्रमुख फेरेदुन अब्बासीको पनि हत्या भएको सरकारी सञ्चार माध्यमले जनाएका छन्।–एजेन्सी