काठमाडौं। सरकारले जेठ १५ को बजेटमा घोषणा गरेअनुसार नेपाल घुमफिरमा आउने भारतीय पर्यटकलाई स्थलमार्गबाट ५ हजार डलर बराबर मुद्रा ल्याउन सक्ने गरी व्यवस्था गरेको छ।
सरकारले आज राजपत्रका सूचना प्रकाशित गर्दै नेपाल भ्रमणमा हवाई वा स्थलमार्गबाट नेपाल आउने भारतीयले ५ हजार अमेरिकी डलर बराबरको ट्राभल्स चेक ल्याउन सक्ने व्यवस्था गरेको हो।
यसअघि भारतीय पर्यटकले २५ हजार भारु मात्रै ल्याउन पाउँथे। अन्य मुलुकका पर्यटकको हकमा ५ हजार डलर सुविधा थियो। तोकिएको बढी डलर ल्याउनुपरे भन्सारबिन्दुमा घोषणा गर्नुपर्ने व्यवस्था गरिएको छ। विदेशबाट फर्केका नेपालीको हकमा नयाँ प्रावधानमा बदलिएको छैन।
यस्तै, विवाहलगायतका सामाजिक कार्यमा भारतबाट आउने यात्रलुे स्व-प्रयोजनका लागि ल्याउने गहना फर्कंदा फिर्ता लैजाने सर्तमा भन्सार कार्यालयमा घोषणा गरी ल्याउन सक्ने नयाँ प्रावधान समेटिएकाे छ।
नेपाली नागरिक विदेशबाट स्वदेश फर्किंदा व्यक्तिगत प्रयोजनका लुगाफाटो, घरगृहस्थीका पुराना सामान र औषधीमा महसुल लाग्दैन। प्रयोग गरेका ट्याबलेट, ल्यापटप वा डेस्कटप, घडी, क्यामेरा, भिडियो क्यामेरा र फोन एक एक थान बिनामहसुल ल्याउन सकिनेछ। तर, नयाँ ल्याउँदा भने महसुल तिर्नुपर्नेछ।
श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई लगातार ६ महिना काम गरी फर्केका नेपाली नागरिकले आफ्नो साथमा एक थान नयाँ मोबाइल ल्याउन पाउने व्यवस्था छ।
राजपत्रमा सूचनामा सुनको हकमा भन्सार महसुल ऐन, २०८१ बमोजिम तोकिएको मात्रामा सुन र सुनका गहना ल्याउन सकिने उल्लेख छ। पहिलो ५० ग्रामसम्म प्रचलित दरअनुसार लाग्ने महसुल तिरेर ल्याउन पाइन्छ भने थप ५० ग्रामसम्म प्रचलित दरअनुसार लाग्ने महसुलका अतिरिक्त थप तीन प्रतिशत भन्सार तिरेर ल्याउन सकिनेछ।