काठमाडौं। गत जेठ २९ मा भारतको अहमदावादस्थित सरदार बल्लवभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट चालकदलका सदस्यसहित २४२ यात्रु बोकेर बेलायतको लन्डनका लागि उडेको एयर इन्डियाको विमान बोइङ ७८७–८ ड्रिमलाइनर घना बस्ती भएको क्षेत्रमा खस्दा एक जनाबाहेक सबैको अकालनमा ज्यान गएको छ। उडेको दुई मिनेटमै दुर्घटनामा परेको उक्त जहाजमा सवार २४१ यात्रुमध्ये एक जना बाँच्न सफल भएका छन्।
शुक्रबार दुर्घटनामा परेको उक्त विमानको ब्ल्याकबक्स फेला परेको छ। यसले विमानको दुर्घटनाको कारण पत्ता लगाउन सहयोग पुग्नेछ। विमान के कारणले दुर्घटनामा परेको हो भन्नेबारे अझै औपचारिक जानकारी भारतले दिएको छैन। यद्यपि आज एयर इन्डिया विमान दुर्घटनाबारे भारत सरकारले औपचारिक अनुसन्धान थालेको जानकारी दिएको छ।
भारतीय नागरिक उड्डयनमन्त्री राममोहन नायडु किन्जारापुले विमान दुर्घटना अनुसन्धान ब्युरो (एएआईबी)ले अहमदावाद विमान दुर्घटनाबारे औपचारिक अनुसन्धान सुरु गरेको बताएका हुन्।
उनले सामाजिक सन्जालमा एक्समा भनेका छन्, ‘एएआईबीले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईसीएओ)ले निर्धारण गरेको प्रोटोकलअन्तर्गत दुर्घटनाको औपचारिक अनुसन्धान सुरु गरेको छ। अनुसन्धानपछि विमान दुर्घटनका सबै तथ्य बाहिर आउनेछन्।’
सरकारले विमान दुर्घटनाबारे विस्तृत अनुसन्धान गर्न विभिन्न विषयविज्ञ सम्मिलित उच्चस्तरीय समिति गठन गर्ने तयारी अन्तिम चरणमा पुगेको उनल जानकारी दिए। उनले भनेका छन्, ‘यो समितिले उड्डयन सुरक्षा सुदृढ पार्न र भविष्यमा यस्ता घटना हुन नदिन काम गर्नेछ। विमान दुर्घटना रोक्न चालिनुपर्ने उपायबारे पनि यसले सरकारले सुझाउनेछ।’
विमान खसेको भवनमा बसेका धेरै जनाको मृत्यु भएको बताइएको छ। भारतीय समाचारपत्र दैनिक भाष्करका अनुसार हालसम्म २७५ वटा शव भेटिएका छन्। सिभिल अस्पतालमा २७० बढी शवको पोस्टमार्टम गरिएको छ। यसबाहेक २४१ जनाको डीएनए नमुना लिइएको छ भने ७ वटा शवको पहिचान भइसकेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
मृत्यु हुनेमा विमानमा सवार २४१ जना र बीजे मेडिकल कलेज होस्टेलमा ३१ जनाको मृत्यु भएको छ। यीमध्ये ५ जना डाक्टर, अन्य कर्मचारीलगायत छन्। विमान दुर्घटनाग्रस्त भएको बीजे मेडिकल कलेजको होस्टेल भवनमा ६० भन्दा बढी डाक्टर, विद्यार्थी, कर्मचारी र केही अन्य व्यक्ति थिए।
मृतक परिवारका सदस्य र आफन्तलाई लिएर आजै लन्डनबाट अहमदावाद आउँदै गरेको विमान शनिबार दिउँसो ४ बजे अवतरण हुने बताइएको छ। परिवार आएपछि मृतकका शवको डीएनए नमुना लिइनेछ। विमान दुर्घटना अनुसन्धानमा सघाउन बेलायती अनुसन्धानकर्ताको टोली अहमदावाद आइपुगेको बताइएको छ। एएआईबीले अमेरिका र बेलायतका टोलीको सहयोगमा दुर्घटनाको कारणबारे अनुसन्धानको नेतृत्व गरिरहेको छ।
बोइङका प्रमुख कार्यकारी केली ओर्टबर्गले कम्पनीले अनुसन्धानमा सहयोग गरिरहेको जनाएका छन्। विमानमा १६९ भारतीय, ५३ बेलायती, सात पोर्चुगिज र एक क्यानेडाली नागरिक रहेको बताएको छ।–एजेन्सी