काठमाडौं। देशका सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष ०८२/८३ को वार्षिक बजेट ल्याउँदै छन्। संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारहरूले आज प्रदेशसभामा बजेट प्रस्तुत गर्न लागेका हुन्।
अघिल्ला वर्षका बजेट कार्यान्वयनमा समस्या देखिएपछि अधिकांश प्रदेशले बजेटको आकार नबढाउने भएका छन््। प्राय सबै प्रदेशले कृषि, रोजगारी र पर्यटनलाई प्राथमिकतामा राखेका छन् ।
कोशी प्रदेश सरकारले पूर्वाधार, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमितकतामा राखेर बजेट ल्याउने तयारी गरेको छ। कोशी प्रदेश सरकारले गत वर्षकै आकारमा बजेट ल्याउने जनाएको छ। कोशीले गत वर्ष ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट ल्याएको थियो।
मधेस प्रदेश सरकारले कृषिक्षेत्रको आमूल सुधारलाई प्राथमिकतामा राखेर बजेट ल्याउँदै छ। मधेसमा गत वर्ष ४३ अर्ब ८९ करोड २१ लाख रुपैयाँको बजेट आएको थियो।
बागमती प्रदेशले पर्यटन र कृषिलाई प्राथमिकतामा राखेको छ। बागमती प्रदेश सरकारले गत वर्ष ६४ अर्ब ५४ करोड ४ लाख रुपैयाँको बजेट ल्याएको थियो।
गण्डकी सरकारले आत्मनिर्भर प्रदेशको आधार तयार गर्ने गरी बजेट ल्याउँदै छ। गण्डकीले गत वर्ष ३२ अर्ब ९७ करोड ८५ लाखको बजेट ल्याएको थियो।
लुम्बिनीले कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ। गत आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोडको बजेट ल्याएको लुम्बिनीले आगामी वर्षका लागि भने झण्डै ३५ अर्बको मात्र ल्याउने तयारी छ।
कर्णाली सरकारले सीमान्तकृतको जीवनस्तर सुधार गर्ने लक्ष्यसहित बजेट ल्याउने भएको छ। कर्णालीले गत वर्ष ३१ अर्ब ४१ करोडको बजेट सार्वजनिक गरेको थियो।
यस्तै, सुदूरपश्चिम प्रदेश सरकारले क्रमागत र बहुवर्षीय आयोजनालाई प्राथमिकतामा राखेको छ। सुदूरपश्चिम सरकारले गत आर्थिक वर्षका लागि ३१ अर्ब ६२ करोड ९८ लाखको बजेट ल्याएको थियो।