काठमाडौं। कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि झण्डै ३६ अर्ब रूपैयाँको बजेट सार्वजनिक गरेको छ।
कोशी सरकारले ल्याएको ३५ अर्ब ८७ करोड ९९ लाख रूपैयाँको बजेटमध्ये चालुतर्फ १८ अर्ब ६७ करोड ३३ लाख अर्थात् ५२ प्रतिशत, पुँजीगततर्फ १७ अर्ब १० करोड ६५ लाख अर्थात् ४७.७ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ १० करोड अर्थात् ०.३ प्रतिशत निर्धारण गरेको छ।
कुल विनियोजित रकममध्ये स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ ४ अर्ब ७० करोड ७२ लाख विभाजन गरिएको छ। आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये प्रदेश सरकारको आन्तरिक राजस्वबाट ५ अर्ब ५० करोड मात्रै अनुमान गरिएको छ।
यस्तै, राजस्व बाँडफाँडबाट १२ अर्ब ३९ करोड ६० लाख, संघबाट प्राप्त हुने वित्तीय समानिकरण अनुदानबाट ८ अर्ब ९८ करोड ३४ लाख, सशर्त अनुदानबाट ४ अर्ब ५७ करोड १० लाख, समपूरक अनुदानबाट ३९ करोड १७ लाख, विशेष अनुदानबाट ५५ करोड ७२ लाख गरी राजस्व तथा वित्तीय हस्तान्तरण जम्मा ३२ अर्ब ७४ करोड ७९ लाख र रोयल्टीबाट प्राप्त हुने रकम ३५ करोड ६ लाख गरी खर्च व्यहोरिने आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले सम्बोधनमा जनाएका थिए। बाँकी अपुग ३ अर्ब १३ करोड व्यहोरिने बजेट वक्तव्यले जनाएको छ।
बजेटमा पूर्वाधार विकासतर्फ १० अर्ब ५७ करोड मात्रै विभाजन गरिएको छ। खानेपानी, सिँचाइसँगै ऊर्जातर्फ ४ अर्ब ७३ करोड ३० लाख, कृषि र उद्योगतर्फ २ अर्ब १८ करोड, पर्यटन, वन तथा वातावरणतर्फ २ अर्ब ९७ करोड ६६ लाख, शिक्षा, विज्ञान र सामाजिकतर्फ २ अर्ब ५ करोड ५५ लाख, स्वास्थ्यतर्फ ३ अर्ब ५१ करोड ७१ लाख, शान्ति सुरक्षाका लागि ९६ करोड विनियोजन गरिएको छ।