काठमाडौं। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले दुई महिनाको बीचमा विदेशी मुद्राको कारोबार गर्ने ढेड दर्जन कम्पनीमाथि मुद्दा चलाएको छ। सिआईबीले चैत र वैशाखमा अवैध विदेशी मुद्राको वित्तीय कारोबार अर्थात् रेमिट्यान्स भुक्तानी गर्ने १८ वटा कम्पनीविरुद्ध मुद्दा दायर गरेको हो।
नेपालमा आन्तरिक विप्रेषण (रेमिट्यान्स) कारोबार बन्द भएको करिब दुई वर्ष हुन लाग्यो। आन्तरिक रेमिट्यान्स बन्द भएको अवस्थामा पनि विदेशबाट रेमिट्यान्सवापत प्राप्त हुने रकम रोकेर नेपालमा प्रापकलाई अवैध कारोबारबाट प्राप्त रकम भुक्तानी कार्यमा संलग्न कम्पनीविरुद्ध अनुसन्धान तथा छानबिन गरी मुद्दा चलाइरहेको छ।
आन्तरिक रेमिट्यान्सको नाम नेपालमा अवैध कारोबार अर्थात् भन्सार चोरी पैठारी, सुनको अवैध कारोबार, कर छलीलगायतमा संलग्न रहेको व्यक्ति समूहले विभिन्न व्यक्ति तथा रेमिट्यान्स, मनिट्रान्सफको नामबाट प्रापकको खातामा रेमिट्यान्स भनेर पठाएको सिआईबीको अनुसन्धानमा देखिएको थियो।
विदेशबाट पठाइएको रेमिट्यान्स नेपालमा प्राप्त नभएको अवस्थामा १८ वटा कम्पनीले रेमिट्यान्स भुक्तानी पाउनुपर्ने व्यक्तिको खातामा पैसा जम्मा गरेर हिसाब मिलन गर्ने गरेको सिआईबी स्रोत बताउँछ।

‘विदेशमा हुनेले त्यहीबाट नेपाल पैसा पठाउने भनिएका विभिन्न कम्पनीमा पैसा जम्मा गरिदिने र ती कम्पनीले यस्तो पैसा नेपाल नपठाउने तर, रेमिट्यान्स भुक्तानी पाउनुपर्ने व्यक्तिलाई अवैध कारोबारबाट आर्जित पैसा खातामा जम्मा गर्ने मनिट्रान्सफर, ट्राभल्स, सप्लायर्स भनेर खोलिएका कम्पनीहरु संलग्न रहेको पाइयो,’ सिआईबी स्रोतले क्यापिटल नेपालसँग भन्यो, ‘यस्तो कार्यले नेपालमा औपचारिक माध्यमबाट आउनुपर्ने रेमिट्यान्स उनीहरुले हुण्डी गरिरहेका थिए। सर्वसाधारणको खातामा अनजानमा अवैध कारोबारको पैसा जम्मा भएको थिए। ती कम्पनी र संचालकलाई विपक्षी बनाएर अदालतमा मुद्दा चलाइएको छ। यसले धेरै हदसम्म रेमिटयान्सलाई औपचारिक माध्यममा लयाउन मद्दत गर्छ।’
सिआईबीले त्यस्ता व्यक्ति तथा कम्पनीलाई पक्राउ गरेपछि हुण्डी रोकिँदा महिना दिनै अर्बौं रुपैयाँले औपचारिक माध्यमबाट आउने रेमिट्यान्स बढेको तथ्यांकले पुष्टि गरेको हो।
विदेशबाट रेमिटयान्स भनेर आफन्तलाई पैसा पठाए पनि उनीहरुको पैसा विदेशमै विभिन्न (तस्करीको लागि सुन खरिद, क्रिप्टो कारोबार, हतियार तस्करी, भन्सार छली गरी ल्याइने वस्तुलगायतका अवैध कारोबारमा प्रयोग हुने र यस्तो अवैध कारोबारको ब्ल्याक मनीलाई ह्वाइट बनाउने रेमिट्यान्स भुक्तानीको प्रयोग बढेको सिआईबी स्रोतको दाबी छ।
‘ती कम्पनीको खाता बन्द भइसकेको छ, ती व्यक्तिहरूले गैरकानुनी रुपमा आर्जित पैसा जम्मा गर्न ‘मनी म्युल’ परिचालन गरेर आन्तरिक र अन्तर्राष्ट्रिय रेमिट्यान्सको गरेका थिए। यस्तो कारोबारमा संलग्नहरूको अझै खोजी भइरहेको छ। यस्ता थप मनीट्रान्फर र रेमिट्यान्स कम्पनी अनुसन्धानको दायरामा आएका छन्,’ उनले भने।
मनी म्युल भन्नाले अरू कसैको अवैध वा गैरकानुनी तरिकाबाट आर्जन गरिएको रकमलाई आफ्नो खातामा राखेर वा आफूमार्फत अरूको खातामा ट्रान्सफर गरिदिने व्यक्ति हुन्। सिआईबीले त्यस्ता व्यक्ति तथा कम्पनीलाई पक्राउ गरेपछि हुण्डी रोकिँदा महिना दिनै अर्बौं रुपैयाँले औपचारिक माध्यमबाट आउने रेमिट्यान्स बढेको तथ्यांकले पुष्टि गरेको हो।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार विगत ३ महिनायता मासिक ढेड खर्ब रेमिट्यान्स नेपाल भित्रिरहेको छ। २०८२ वैशाख महिनामा १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ रेमिट्यान्स औपचारिक माध्यमबाट नेपाल भित्रिएको छ। २०८१ चैत मसान्तसम्म नेपालमा कुल ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा वैशाख मसान्तसम्म १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ पुगेको हो।
राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितसमेत सरकारले औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउनेलाई प्रोत्साहन नीति दिँदा र प्रहरी अनुसन्धान तीव्र हुँदा औपचारिक माध्यमको रेमिट्यान्स बढ्न थालेको बताउँछन्।

‘रेमिट्यान्स वृद्धिमा धेरै कारण छन्, सरकारले विप्रेषणमा एक प्रतिशत ब्याज बढी दिने भन्यो, राष्ट्र बैंकले पनि औपचारिक रेमिट्यान्सलाई प्रोत्साहन गरेको छ भने अनौपचारिक कारोबार प्रहरी अनुसन्धानमा परिरहेको हुँदा पनि बढ्न मद्धत पुगेको छ,’ राष्ट्र बैंक प्रवक्ता पण्डितले क्यापिटल नेपालसँग भने।
राष्ट्र बैंको निगरानी र प्रहरीकाको निगरानी अनुसन्धानले पनि व्यक्तिलाई औपचारिक माध्यमबाटै रेमिट्यान्स पठाउनु पर्छ भन्ने हुँदै गएको उनको भनाइ छ।
२०८१ फागुनसम्म कुल १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो भने ०८१ माघ मसान्तसम्म ९ खर्ब ५८ करोड रुपैयाँ र पुस मसान्तसम्म ७ खर्ब ६३ अर्ब ८ करोड रेमिट्यान्स नेपाल भित्रिएको थियो। मासिक तुलना गर्दा माघ महिनामा मात्रै १ खर्ब ३७ अर्ब ५० करोड, फागुन महिनामात्रै १ अर्ब ५१ अर्ब १९ करोड, चैत महिनामात्रै १ खर्ब ३९ अर्ब ५४ करोड र बैशाख महिनामा १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ रेमिट्यान्स औपचारिक माध्यमबाट नेपाल भित्रिएको हो।
विषेश गरी सिआईबीले अवैध वित्तीय कारोबारी अर्थात हुण्डी गर्ने १८ कम्पनीमाथि अनुसन्धान थालेपछि ती कम्पनी बन्द भएपछि औपचारिक माध्यमको रेमिट्यान्स बढेको देखिन्छ। सिआईबीले चैत र वैशाख महिनामा त्यस्ता कम्पनीलाई आफ्नो अनुसन्धानको दायरामा ल्याएको थियो। उक्त महिनाबीचमा नेपाल भित्रिने रेमिट्यान्स पौने २६ अर्ब रुपैयाँले बढेको देखिन्छ।
नेपालमा निगरानीको दायरा बढेपछि औपचारिक माध्यमबाट आउने रेमिट्यान्स बढेको नेपाल रेमिट्यान्स एसोशिएसनका अध्यक्ष रितेश मित्तल बताउँछन्।
अघिल्लो वर्षको सोही अवधिमा नेपाल भित्रिने रेमिट्यान्सको तथ्यांक हेर्दा चैत महिनाभन्दा वैशाखमा घटेको देखिन्छ।
‘हुण्डी गर्नेलाई नियन्त्रण गर्दा औपचारिक रेमिट्यान्स अवश्य बढ्छ, पहिलेभन्दा प्रहरीको निगरानी बढेको पाइन्छ भने राष्ट्र बैंक रेमिट्यान्स कम्पनीको निरीक्षण गर्ने गैरबैंकिङ सुपरिवेक्षणले पनि कडाईका साथ हेर्न थालेको छ,’ संघका अध्यक्ष मित्तलले क्यापिटल नेपालसँग भने, ‘अनुसन्धानमा परेकाको कारोबार त रोकिने भयो, अन्य अनुसन्धानको दायरामा नपरेकालाई पनि डरले कारोबार रोकेको महशुस औपचारिक माध्यमबाट हुने रेमिट्यान्स कारोबार वृद्धिले गराउँछ।’
अघिल्लो वर्षको सोही अवधिमा नेपाल भित्रिने रेमिट्यान्सको तथ्यांक हेर्दा चैत महिनाभन्दा वैशाखमा घटेको देखिन्छ। २०८० चैत महिनामात्रै नेपालमा १ खर्ब २१ अर्ब ४० करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो। २०८१ वैशाख महिनामा ५ अर्ब ४२ करोड रुपैयाँले घटेर १ खर्ब १५ अर्ब ९८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो।

वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या भने रेमिट्यान्स वृद्धिको तुलनामा न्यून छ। गत वैशाखसम्म अन्तिम श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिनेको संख्या ६ लाख ८५ हजार ९२४ जना र चैतसम्म ६ लाख ७ हजार ८७४ जना वैदेशिक रोजगारीमा गएका छन्। अघिल्लो वर्ष अर्थात् २०८१ वैशाखमा ६ लाख १२ हजार ७८० र २०८० चैतमा ५ लाख ४२ हजार १४३ जना वैदेशिक रोजगारीमा गएका थिए।
सिआईबीले खाता रोक्का गरी मुद्दा चलाएको कम्पनीहरू
१. अलिता मनी ट्रान्सफर
२. आनन्द ट्रेडर्स
३. आर एण्ड आर सब रेमिट प्रा. लि.
४. खुशी मनि ट्रान्सफर
५. गोल्डेन स्काई टुर एण्ड टाभल्स प्रा. लि,
६. जय मा जानकी मनि ट्रान्सफर
७. डि. एस. ट्रेडर्स तथा रेमिटान्स
८. तासी ट्राभल्स एण्ड टुर्स प्रा.लि.
९. दिप ज्योति ट्रेडर्स
१०. न्यू सन्ध्या ईन्टरप्राइजेज
११. पुजा सप्लायर्स
१२. राधिका ट्रेडर्स
१३. रिया ट्रेडर्स
१४. शिवम इन्टप्राइजेज
१५. श्री एन्जल इन्टप्राइजेज
१६. सगरमाथा मनि ट्रान्सफर
१७. सस्विका मनि ट्रान्सफर
१८. हिमालयन मनी ट्रान्सफर