काठमाडौं। आगामी आर्थिक वर्ष ०८३/८४ को बजेट लेखन समितिका सदस्यले पूर्णता पाएका छन्। सरकारले लेखन समितिमा दुई सदस्यलाई सरुवा गरेसँगै खाली रहेको समितिले पूर्णता पाएको हो। बजेट आउन एक महिना बाँकी रहेको संवेदनशील चरणमै सरकारले समितिका दुई सदस्यको सरुवा गरेको थियो।
अर्थ मन्त्रालयले २० चैतमा बजेट लेखन समिति गठन गरेको थियो । तर, १० वैशाखमै मन्त्रिपरिषद्ले समितिका सदस्य सहसचिवद्वय महेश भट्टराई र सेवन्तक पोखरेललाई सरुवा गर्यो । बजेट तयारीकै निर्णायक घडीमा गरिएको सरुवाबारे मन्त्रालयले औपचारिक कारण खुलाएको छैन।
अर्थ मन्त्रालयका सूचना अधिकारी किशोर ढकालका अनुसार लेखन समितिको सदस्यले पूर्णता पाएको स्पष्ट भएको हो। समितिमा मन्त्रालयका दुई जना सह-सचिवको नियुक्त गरिएको छ। समितिमा अमृत लम्साल र टंकप्रसाद पाण्डेयलाई नियुक्ती गरिएको उनले बताए।
लेखन समितिले आफ्नो जिम्मेवारी तोकेबमोजिम बजेटको काम कारवाहीलाई अगाडि बढाइरहेको उनले बताए। मन्त्रालयगत छलफलको कार्य सकाएर लेखन समितिले बजेट लेखनको तयारीमा रहेको उनको भनाइ छ।
१५ जेठमा संसदमा बजेट टेबल गर्नुपर्ने संवैधानिक व्यवस्था छ। २१ फागुनको निर्वाचनका कारण सरकार गठनका कारण बजेटतालिका नै प्रभावित भएर ढिलो गरी बजेट लेखन समिति गठन भएको थियो। सहसचिव भट्टराईलाई बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रदेश सचिवका रूपमा पठाइएको छ भने पोखरेललाई मधेश प्रदेशमा सोही जिम्मेवारी दिइएको छ ।
समितिको संयोजकमा सहसचिव तथा राजस्व व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्री छन्। सदस्यमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख डा. सुमन दाहाल र अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख धनीराम शर्मा छन्। तर, प्रमुख सदस्यहरूको सरुवापछि समितिको काम प्रभावकारी रूपमा अघि बढ्न नसकेको देखिएको छ।
यो समितिलाई आगामी बजेटको सिद्धान्त, प्राथमिकता, कार्यक्रम र बजेट वक्तव्यको मस्यौदा तयार गर्ने महत्वपूर्ण जिम्मेवारी दिइएको छ। साथै, वार्षिक नीति तथा कार्यक्रमका लागि सुझाव दिने, आयोजना प्राथमिकीकरण गर्ने र विनियोजन विधेयकको आधार तयार गर्ने कामसमेत यही समितिले गर्छ। सहमहालेखा नियन्त्रक सुशीला अर्यालको लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेश सचिवका रूपमा सरुवा गरिएको छ।