काठमाडौं। औद्योगिक विकास प्रतिष्ठानले ‘स्टार्टअप उद्यम कर्जा कार्यक्रम’अन्तर्गत प्रारम्भिक चरणमा छनोट भएका परियोजनाको सूची सार्वजनिक गरेको छ।
सरकारले नयाँ उद्यम गर्न चाहनेलाई लक्षित गरी सुलभ दरमा ऋण उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरेको कार्यक्रममा पहिलो चरणमा १३०१ वटा व्यावसायिक फर्म तथा परियोजना प्रारम्भिक छनोटमा परेका हुन्।
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जाका लागि गत २०८२ कात्तिक १९ देखि मंसिर ९ गतेसम्म प्रस्तावकबाट अनलाइनमार्फत आवेदन माग गरिएको थियो । तोकिएको अवधिभित्र आवेदन दिएका परियोजनाको प्रारम्भिक सूची सार्वजनिक गरिएको प्रतिष्ठानले जनाएको छ।
स्टार्टअप कर्जामा युवा उद्यमीको सबभन्दा बढी आकर्षण कृषि र पशुपालन क्षेत्रमा देखिएको छ। छनोट भएका कुल परियोजनामध्ये करिब ६५ प्रतिशतभन्दा बढी कृषि, पशुपालन, मत्स्यपालन र जडीबुटीसँग सम्बन्धित रहेका छन्।
‘एकीकृत कृषि तथा पशुपन्छी फार्म, बाख्रापालन, कुखुरापालन, डेरी उद्योग, तरकारी खेती र जडीबुटी प्रशोधन क्षेत्रमा धेरै प्रस्ताव छानिएका छन्।
प्रारम्भिक सूचीअनुसार कृषिबाहेक साना तथा मझौला उत्पादनमूलक उद्योग (गार्मेन्ट, जुत्ता, हस्तकला, फर्निचर), सूचना प्रविधि (सफ्टवेयर विकास, मोबाइल एप), शिक्षा (मन्टेसरी, सीपमूलक तालिम केन्द्र), स्वास्थ्य (क्लिनिक, फार्मेसी) र पर्यटन (होमस्टे, होटल तथा रेस्टुरेन्ट) सँग सम्बन्धित स्टार्टअप पनि समावेश छन्।
प्रारम्भिक सूचीका अनुसार मुगु, डोल्पा, मधेस र उपत्यकाका धेरै नयाँ उद्यमीले स्टार्टअप कर्जा मागसहित उद्यमका लागि आवेदन दिएका छन्।
प्रारम्भिक सूचीमा समावेश भएका परियोजना प्रस्तावकले थप मूल्यांकनका लागि व्यावसायिक विवरण आगामी २०८३ वैशाख २३ सम्म अनिवार्य पठाइसक्नुपर्ने प्रतिष्ठानको सूचनमा उल्लेख छ।
विवरण प्रतिष्ठानले तोकेको ढाँचामा भरेर आधिकारिक ह्वाट्सएप नम्बर ९७१२००६७१७ मा पठाउनुपर्नेछ। तोकिएको समयभित्र विवरण नबुझाउने प्रस्तावक स्वतः अयोग्य हुने प्रतिष्ठानले जनाएको छ।
प्रारम्भिक सूचीमा परेका प्रस्तावकको स्थलगत निरीक्षण, अन्तर्वार्ता र विस्तृत परियोजना प्रतिवेदनको मूल्यांकनपछि मात्रै अन्तिम रूपमा कर्जा दिने प्रक्रिया सुरु हुनेछ।