काठमाडौं। नेपाल प्रहरीले चालू आर्थिक वर्ष २०८२/८३ को साउनदेखि चैतसम्म अनलाइन माध्यमबाट सर्वसाधारणको ४४ करोड रुपैयाँ ठगी भएको विवरण सार्वजनिक गरेको छ। तथ्यांकअनुसार कुल चालू आवको ९ महिनामा ४४ करोड ८८ लाख ९५ हजार २६७ रुपैयाँ अनलाइन ठगीमार्फत गायब भएको हो।
विवरणअनुसार गत आर्थिक वर्ष २०८१÷८२ को तुलनामा ठगी रकम १३३.३४ प्रतिशतले वृद्धि भएको छ। गत वर्ष अनलाइनबाट १९ करोड २३ लाख ७४ हजार २५९ रुपैयाँ ठगी भएको थियो।
प्रहरीले चालू आर्थिक वर्षको ९ महिने अवधिमा ४४ जना ठगीमा संलग्नलाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा परेकामध्ये ३२ जना पुरुष, ५ जना महिला र ७ जना विदेशी नागरिक छन्। यसै अवधिमा ७३ वटा ठगी सम्बन्धी मुद्दा प्रहरीमा दर्ता भएका छन्। यस्तै अघिल्लो आर्थिक वर्षमा ९२ जनालाई पक्राउ गरिएको थियो।
विशेषगरी पछिल्लो समय खल्ती, फोनपे, कनेक्ट आइपिएस जस्ता डिजिटल वालेट प्रणाली ठगीको नयाँ माध्यम बनेका छन्। यस्ता वालेट सेवाको नाम दुरुपयोग गर्दै अनधिकृत समूहले सर्वसाधारणका खातामा पहुँच बनाइ करोडौं रुपैयाँ ठगी गरिरहेका हुन्।
डिजिटल माध्यमबाट गरिने ठगीमध्ये सबैभन्दा धेरै वालेटमार्फत भएको छ। यसबाट मात्रै ८ वटा मुद्दा दर्ता भएका छन्। यो अवधिमा वालेट मार्फत ठगी गर्ने १८ जना पुरुष र १ जना महिला गरी १ जना स्वदेशी नागरिक पक्राउ परेका छन्। वालेटमार्फत करिब २३ करोड ५७ लाख ७२० हजार रुपैयाँ बराबरको ठगी भएको छ।
त्यस्तै अनलाइन बैंकिङमार्फत हुने ठगीका १२ वटा मुद्दा दर्ता भएका छन्। यस प्रकारको ठगीमा १ जना पुरुष र २ जना महिला पक्राउ परेका छन् भने २ जना विदेशी पक्राउ परेका छन्। यो माध्यमबाट गरिएको ठगीको अनुमानित रकम १ करोड ७४ लाख ९४ हजार रुपैयाँ रहेको छ।
अनलाइन किनमेलमार्फत ठगी शीर्षकमा ५ वटा मुद्दा दर्ता भएका छन्। यसमार्फत ९ करोड ४५ लाख २९ हजार रूपैयाँ ठगी भएको हो। समाजिक सञ्जालमार्फत चालू आर्थिक वर्षको ९ महिनामा २ करोड ५९ लाख ९७ हजार रुपैयाँ सर्वसाधारणको ठगिएको छ।