काठमाडौं। डेनमार्कमा १० औँ सताब्दीमा गाडिएको चिहानसँगै अकुत सम्पत्ति फेला परेको छ। उत्तरी डेनमार्कमा एउटा भाइकिङ कुलीन परिवारको हो भन्ने विश्वास गरिएको १० औँ शताब्दीको चिहान फेला परेको एक संग्रहालयले घोषणा गरेको छ।
यो चिहान प्राचीन वस्तुहरूको ठूलो भण्डारले भरिएको समाचारमा जनाइएको छ। डेनमार्कको दोस्रो ठूलो सहर आर्हसबाट ७ किलोमिटर उत्तरमा अवस्थित गाउँ लिस्बर्ज नजिकै निर्माण कार्य हुँदै गर्दा मोती, सिक्का, सिरेमिक र सुनको धागोले भरिएको बक्स फेला परेको थियो। योसँगै खोजी कार्य भएको हो।
पुरातत्वविद्ले १०औँ शताब्दीको उत्तरार्धमा प्रसिद्ध राजा हेराल्ड ब्लुटुथको शासन कालमा करिब ३० वटा चिहान भएको फेला पारेको आर्हसको मोस्गार्ड संग्रहालयले जनाएको छ।
संग्रहालयका पुरातत्वविद् म्याड्स रेभनका अनुसार चिहान सम्भवतः भाइकिङ युगको कुलीन परिवारसँग जोडिएको छ। यो आठौँ र ११ औँ शताब्दीको बीचमा चलेको थियो। यो फार्म सन् १९८० को दशकको अन्तमा चिहान स्थलबाट एक किलोमिटरभन्दा कममा फेला परेको थियो।
‘यो हाराल्ड ब्लुटुथको कुनै अर्ल वा भण्डारे हुन सक्छ,’ रेभनले भने। रेभनका अनुसार आजको डेनमार्कमा इसाई धर्मको परिचय गराउने राजाले केही क्षेत्र व्यवस्थापन गर्ने जिम्मा कुलीनलाई दिएका थिए।
अनुसन्धानकर्ताले स्थलमा दाँत र हड्डीहरू जस्ता केही मानव अवशेषहरू पनि फेला पारेका छन्। ‘मानिसले मूलतः उनीहरूका लागि महत्त्वपूर्ण कुरा चिहानमा लगे किनभने तिनीहरू यसलाई अर्को संसारमा हस्तान्तरण गर्न चाहन्थे,’ पुरातत्त्वविद् रेभनले भने।
रेभनका अनुसार यो बाकस एक उल्लेखनीय खोज हो। ‘यो धेरै दुर्लभ छ, हामीलाई थाहा भएका केवल तीन वटा मात्र छन्,’ उनले भने। एक शाही र व्यापारिक केन्द्रका रूपमा आर्हस भाइकिङ युगमा डेनमार्कका सबैभन्दा महत्त्वपूर्ण सहरमध्ये एक थियो।