काठमाडौं। राइड सेयरिङ र फूड डेलिभरी सेवाप्रदायक पठाओ नेपालले नियमित राइड र फूड अर्डर गर्ने ग्राहकलाई लक्षित गरी ‘पठाओ सेभर प्याक’ बिटा भर्सन सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो विशेष छुटसहितको योजना क्याम्पस र अफिस जाने यात्रुलाई लक्षित गरिएको छ।
पठाओ सेभर प्याकअन्तर्गत तीन प्याकेज उपलब्ध हुनेछन्। जसमा स्टुडेन्ट प्याक, अफिस प्याक र सुपर सेभर प्याक रहेका छन्।
स्टुडेन्ट प्याकको मूल्य २९९ रुपैयाँ राखिएको छ। यो प्याकेज खरिद गर्ने विद्यार्थीले २६ वटा बाइक राइडसम्म प्रत्येकमा ४५ रुपैयाँ छुट पाउनेछन्। विद्यार्थीलाई सस्तो, भरपर्दो र नियमित यात्राको सजिलो समाधान दिने उद्देश्यले यो प्याकेज ल्याइएको कम्पनीले जनाएको छ। प्याक खरिद गर्न चाहने विद्यार्थीले विद्यार्थी परिचयपत्र अनिवार्य रुपमा देखाउनुपर्नेछ।
अफिस प्याकको मूल्य ४९९ रुपैयाँ तोकिएको छ। यस प्याकमा ग्राहकले १८ वटा बाइक राइडसम्म प्रत्येकमा ४० रुपैयाँ छुट, तीन वटा कार–लाइट राइडसम्म प्रत्येकमा १२० रुपैयाँ छुट र तीन वटा कार–प्लस राइडसम्म प्रत्येकमा १५० रुपैयाँ छुट पाउनेछन्।
कम्पनीले ल्याएको सुपर सेभर प्याकको मूल्य ९९९ रुपैयाँ निर्धारण गरिएको छ। यसअन्तर्गत १५ वटा बाइक राइडसम्म प्रत्येकमा ४० रुपैयाँ, पाँच वटा कार–लाइट राइडसम्म प्रत्येकमा १५०, पाँच वटा कार–प्लस राइडसम्म २०० रुपैयाँ छुट पाउनेछन्। साथै पाँच वटा फूड अर्डरमा १० प्रतिशत वा अधिकतम २०० सम्म छुट पाउनेछन्। नियमित राइड र फूड अर्डर गर्नेका लागि यो प्याक लक्षित गरिएको कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार, सेभर प्याकले ग्राहकको खर्च बचतमा सहयोग गर्नेछ। ग्राहकहरूले यी प्याकेजहरू पठाओको वेबसाइटमा उपलब्ध ब्लग सेक्सनमार्फत खरिद गर्न सक्नेछन्।
हाल सेभर प्याक बिटा भर्सनमा सार्वजनिक गरिएको छ। कम्पनीले ग्राहकको प्रतिक्रिया तथा सुझावका आधारमा आगामी दिनमा थप सुधार र परिमार्जन गर्ने समेत उल्लेख गरेको छ।