काठमाडौं। नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७८ को चौथो संशोधन गरेको छ। केन्द्रीय बैंक विदेशी विनिमय विभागले नेपाली नागरिकले विदेशस्थित उद्योग,फार्ममा लगानी गर्न पाउने गरी विनियमावलीको संशोधन गरेको हो।
संशोधित विनियमावलीअनुसार उद्योग र विदेशी लगानीकर्ताबीच वा नेपालमा स्थापना भई सञ्चालनमा रहेको उद्योग वा कम्पनी र विदेशस्थित उद्योग, फर्म वा कम्पनीबीच पेटेण्ट, डिजाइन, ट्रेडमार्क, व्यापारिक ख्याति (गुडविल), प्राविधिक विशिष्टतासँगै प्राविधिक ज्ञानको प्रयोग (फ्रेञ्चाइज), सूत्र (फर्मूला), प्रक्रियामा प्रविधि हस्तान्तरण सम्झौता गर्न सक्नेछन्।
विदेशी लगानीकर्ताले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को अधीनमा रही मेशिन, औजार, उपकरण मार्फत गरिने सेयर लगानी गर्न सक्नेछन्। साथै, विशिष्टीकृत लगानी कोषको इकाइमा समेत लगानी गर्न सक्छन्। विशिष्टीकृत लगानी कोषको इकाई बिक्री बापतको राष्ट्र बैंकले तोके बमोजिमको रकम फिर्ता लैजान पाउँनेछन्।
विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ बमोजिम विदेशमा लगानी गर्न पाउने गरी छुट प्राप्त उद्योगले विदेशमा लगानी गर्न आवश्यक पर्ने विदेशी मुद्राको सटही सुविधा राष्ट्र बैंकबाट प्राप्त गर्न सक्नेछ।
औद्योगिक व्यवसाय सम्बन्धी प्रचलित कानुनबमोजिम सूचना प्रविधि उद्योगले आफ्नो चुक्ता पूँजीको सीमाभित्र रहने गरी सूचना प्रविधि सम्बन्धी क्षेत्र÷उद्योगमा विदेशमा लगानी गर्न आवश्यक पर्ने विदेशी मुद्राको सटही सुविधा राष्ट्र बैंकबाट प्राप्त गर्न सक्नेछन्।
सूचना प्रविधि उद्योगले कम्तीमा पछिल्ला तीन आर्थिक वर्षहरुमा सूचना प्रविधि सम्बन्धी सेवा निर्यात गरी विदेशी मुद्रा आर्जन गरेको हुनु पर्नेछ। संस्थाहरुले विदेशमा गरेको लगानी सम्बन्धी लेखापरीक्षण भएको वित्तीय विवरण सम्बन्धित देशको आर्थिक वर्ष र नेपालको आर्थिक वर्ष अनुसार आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र एकाईमा पेश गर्नु पर्नेछ।
सम्बन्धित देशको कानुनबमोजिम लेखापरीक्षण गर्नु नपर्ने भएमा सो प्रमाणित हुने कागजातसहित लेखापरीक्षण नभएको वित्तीय विवरण पेश गर्न बाधा नगुग्ने संशोधित विनियमावलीमा उल्लेख छ।
संस्थाहरुले विदेशमा लगानीबाट आर्जित रकम वा लगानी फिर्ता गरी नेपालमा रकम भित्र्याउँदा बैंकिङ्ग प्रणालीमार्फत भित्र्याउनु पर्नेछ। तर, सटही सुविधा लिई विदेशमा लगानी गरेकोमा विदेशी विनिमय अपचलन भएको पाइएमा वा प्रचलित कानुन विपरीत भएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुनेछ।
विदेशी लगानीको स्वीकृतिप्राप्त विदेशी लगानीकर्ताले विदेशी लगानी सम्बन्धी रकम नेपाली बैंक तथा वित्तीय संस्थामा परिवत्र्य विदेशी मुद्रा वा नेपाली रुपैयाँको खाता खोली जम्मा गर्न गर्नुपर्नेछ। वदेशी लगानी बापत आर्जित रकम र लगानी फिर्ताको रकम सम्बन्धित विदेशी लगानीकर्ताको नेपाली बैंक वित्तीय संस्थामा खोलिएको ने.रु.खातामा जम्मा गर्नुपर्नेछ।
विशिष्टीकृत लगानी कोषको इकाईबाट प्राप्त मुनाफा समेत राष्ट्र बैंकको स्वीकृतिले लौजान पाउँने व्यवस्था गरिएको छ। संशोधित व्यवस्थाअनाुसार गैरआवासीय नेपालीले संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको सेयरमा आवेदन दिने प्रयोजनको लागि विदेशी लगानीको स्वीकृतिअगावै त्यस्तो रकम विदेशी लगानीकर्ताको खातामा भित्र्याउन सक्नेछन्।
रकम भित्रिए पश्चात् विदेशी लगानीको स्वीकृति प्राप्त भएमा समेत विनियमको प्रयोजनको लागि बाधा पुर्याएको मानिने छैन। सेयर बाँडफाँडमा नपरी आवेदन गरेको रकम विदेशमा फिर्ता गर्नु परेमा खाता रहेको बैंक–वित्तीय संस्था वा आवेदक गैर–आवासीय नेपालीले संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनी वा सोको सेयर रजिष्ट्रारको सिफारिस सहित एकाईमा निवेदन पेश गर्नु पर्नेछ।
विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा १९(३) को व्यवस्थाबमोजिम प्रचलित कानुनबमोजिम हुने कर बापतको रकम सम्बन्धित विदेशी लगानीकर्ता, उद्योग/कम्पनी, वा कर कार्यालयको नाममा प्राप्त हुने गरी बैंक तथा वित्तीय संस्था मार्फत भित्र्याउन सकिनेछ। यस्तो रकम भित्र्याउन राष्ट्र बैंक वा विदेशी लगानी स्वीकृत गर्ने निकायको स्वीकृति आवश्यक पर्ने छैन।