काठमाडौं। आगामी साउन १ गतेदेखि लघुवित्त वित्तीय संस्थाहरुमा आधार दर (बेसरेट) कार्यान्वयनमा आउने भएको छ। नेपाल राष्ट्र बैंक गत जेठदेखि गर्ने भनिए पनि लघुवित्तहरुले वैज्ञानिक तवरले गणना गर्न नजान्दा कार्यान्वयन दुई महिनापछि धकेलिएको हो।
राष्ट्र बैंकले चालु वर्षको मौद्रिक नीतिको समीक्षामार्फत् २०८२ जेठ १ गतेदेखि लघुवित्तमा बेसरेट कार्यान्वयनमा गरिने उल्लेख गरेको थियो। तर, संस्थाहरुले वैज्ञानिक तवरले बेसरेट गणना गर्न नसक्दा लघुवित्तका ऋणीले हालसमम १५ प्रतिशतकै क्यापमा ऋण लिइरहेका छन्।
लघुवित्त वित्तीय संस्थाहरुले नियामकीय निर्देशनअनुरुप २०७८ सालदेखि राष्ट्र बैंकमा नियमित ढंगले बेसरेट रिपोटिङ गर्न थालेका हुन्। करिब ४ वर्ष अघिदेखि ‘रटान’ लगाएको लघुवित्तमा बेसरेट नीति राष्ट्र बैंक र सम्बन्धित संस्थाले गणनामा प्रभावकारी पर्याप्त अभ्यास गर्न र गराउन नसक्दा नियामकले तोकेको समयमा कार्यान्वयन हुन सकेको छैन।
राष्ट्र बैंकले संस्थाहरुलाई वास्तविक बेसरेट गणना गर्न सिकाएर साउन १ गतेदेखि लागू गर्न निश्चित गरिसकेको राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा नियमन विभाग प्रमुख गुरुप्रसाद पौडेल बताउँछन्। ‘जेठदेखि नै लागू गर्ने भनिएको हो। तर, विविध कारणले सम्भव भएन। अब साउनको १ गतेदेखि लागू गर्ने गरी लघुवित्तको बेसरेट सार्वजनिक गर्छौं,’ राष्ट्र बैंक नियमन विभाग प्रमुख पौडेलले क्यापिटल नेपालसँग भने, ‘अहिलेसम्मको तथ्यांक हेर्दा लघुवित्तको ब्याज दर १३ प्रतिशत र १४ प्रतिशतबीचमा हुने देखिन्छ।’
त्रैमासिक रुपमा मात्रै बेसरेटको तथ्यांक आउने भएपछि असारमा मात्रै त्रैमासिक बेसरेट तथ्यांक आउने हुँदा पनि सोही आधारमा साउन १ गतेदेखि लघुवित्तमा बेसरेट लागू गरिने उनको भनाइ हो।
यसअघि लघुवित्त संस्थाहरुद्वारा प्रकाशित बेसरेट १९ प्रतिशतसम्म रहेको थियो। तर, त्यसको वैज्ञानिक गणना गर्न लगाएर राष्ट्र बैंकले वास्तिवक बेसरेट गणना गर्न लगाएपछि स्प्रेडसहित ब्याज दर अधिकतम १४ प्रतिशतसम्म रहने देखिएको उनको भनाइ छ।
राष्ट्र बैंकले २०८२ साउन १ गतेदेखि बेसरेट कार्यान्वयन गर्ने गरी आवश्यक परिपत्र जारी गरी बेसरेट कुन मोडालिटीमा लागू गर्ने, स्प्रेड कति निर्धारण गर्ने, त्यसमा सेवा शुल्क र प्रिमियम कति राख्न पाउनेलगायतका विविध विषयहरु उल्लेख गर्ने छ।
‘राष्ट्र बैंकले जेठ १ गतेदेखि लागू गर्ने भनेको थियो। तर, संस्थाहरुले बेसरेटमा जोड्नुपर्ने विषयहरुलाई वैज्ञानिक ढंगले निकाल्न अभ्यासको पनि कमि देखियो। त्यही भएर हामीले उनीहरुलाई इफेक्टिभ बेसरेट गणना गर्न सिकाउनु पर्दा समय लागेको हो,’ उनले भने, ‘त्रैमासिक तथ्यांक असारमा मात्रै आउने हुँदा साउनदेखि लागू गर्दा ठिक होला भनिएको हो। असारको तथ्यांक चाँडै आए साउनअगावै पनि गर्न सकिन्छ। तर, साउनमा भने लागू गर्नै पर्छ।’
त्रैमासिक रुपमा मात्रै बेसरेटको तथ्यांक आउने भएपछि असारमा मात्रै त्रैमासिक बेसरेट तथ्यांक आउने हुँदा पनि सोही आधारमा साउन १ गतेदेखि लघुवित्तमा बेसरेट लागू गरिने उनको भनाइ हो।
लघुवित्तमा बेसरेट नयाँ विषय भएकाले गर्दा संस्थाहरुलाई सिकाउनुपर्ने भएको हो। राष्ट्र बैंकले नेशनल बैंकिङ इन्स्टिच्युट (एनबिआई)लाई पनि बैंकरहरुलाई दिइने तालिममा बेसरेटसम्बन्धी विषयलाई महत्वका साथ समेट्न सुझाएको छ। ‘लघुवित्तले गर्ने रिपोर्टिङलाई क्लोज मोनिटरिङ गरेर उनीहरुले पठाएको डाटा धेरै (उतार–चढाव) भएमा के कारण भयो? भनेर हेर्ने गरिएको छ। संस्थाहरुमा आपूm पनि जान्नु पर्छ सिक्नु पर्छ भन्ने भइसकेको छ,’ उनले भने।
राष्ट्र बैंकले लघुवित्तकर्मीलाई बेसरेट निकाल्ने अभ्यास, सञ्चालन खर्चहरु कहाँ–कहाँ राख्ने? कस्ता खर्चलाई लेख्न पाइन्छ? खर्च लेख्दा कुन अन्तरालमा लेख्नु पर्छ? लगायतका विषयमा अहिले ट्रेनिङ दिएको उनले जानकारी दिए। लघुवित्तहरुले खर्चहरु लेखांकन गर्दा त्रैमासिक रुपमा गर्छन्। त्यसलाई मासिक रुपमा लेखांकन गर्ने लगाउने गरेर भए पनि राष्ट्र बैंकले लघुवित्तको आधार दरलाई १४ प्रतिशत तल कायम गर्न लगाइएको हो।
लघुवित्तको ६५ प्रतिशत स्रोत वाणिज्य बैंकहरुसँग लिने ऋण हो। बाँकी स्रोत सदस्यहरुसँग लिएको बचत र अन्य लगानीको आयमार्फत व्यस्थापन गर्छन्।
अहिले वाणिज्य बैंकहरुको बेसरेट साढे ४ प्रतिशतको हाराहारीमा हुँदा उनीहरुले बेसरेटमा २ प्रतिशत थप्दा साढे ७ प्रतिशतमा ऋण पाउँछन्। त्यसमा ३÷४ प्रतिशत कष्ट अफ फण्ड जोड्दा पनि अधिकतम १०-११ प्रतिशतको हारहारीमा हुनुपर्ने हो। यी कारणले गर्दा पनि लघुवित्तको राष्ट्र बैंकले दिएको फमुर्ला सही तवरले प्रयोग गरेर बेसरेट गणना गर्दा १५ प्रतिशत तल हुनुपर्ने देखिन्छ।
राष्ट्र बैंकले दिएको फर्मुलाअनुसार बेसरेटमा कष्ट अफ फण्ड, अपरेटिङ कष्ट, कष्ट अफ सिआरआर, कष्ट अफ एसएलआर जोडेर बेसरेट गणना गर्नुपर्छ। लघुवित्तहरुको करिब ७० प्रतिशतको हारहारीमा कष्ट अफ फण्ड हुन्छ भने २९.५ प्रतिशत अपरेटिङ कष्ट र कष्ट क्यास रिजर्भ रेसियो (सिआरआर), कष्ट अफ एसएलआर (वैधानिक तरलता अनुापात) को हिस्सा ०.५ प्रतिशतमात्रै हुन्छ।
लघुवित्तको बेसरेट
लघुवित्तको ६५ प्रतिशत स्रोत वाणिज्य बैंकहरुसँग लिने ऋण हो। बाँकी स्रोत सदस्यहरुसँग लिएको बचत र अन्य लगानीको आयमार्फत व्यस्थापन गर्छन्। वाणिज्य बैंकहरुले बेसरेटमा २ प्रतिशत प्रिमियम थप गरेर लघुवित्तलाई ऋण दिन्छन्।
वाणिज्य बैंकहरुमा तरलता धेरै भएर कर्जाको ब्याजदर घट्दा लघुवित्तले सस्तोमा ऋण पाउँछन्। उनीहरुको खर्च घट्छ भने संस्थाले आफ्नो सदस्य ऋणीलाई दिने ऋणको ब्याज दरसमेत घट्छ। पछिल्लो समय वाणिज्य बैंकहरु अधिक तरलताको भारमा छन्। वाणिज्य बैंकहरुको बेसरेट ५ प्रतिशतको हाराहारीमा आइसकेको छ। तर, लघुवित्तहरुले राष्ट्र बैंकमा आफ्नो बेसरेट २० प्रतिशतको हाराहारीमा राखेर रिपोर्टिङ गरेका छन्।
लघुवित्त संस्थाहरुले पछिल्लो समय राष्ट्र बैंकमा रिर्पोटिङ गरेको बेसरेटको तथ्यांकअनुसार औसत बेसरेट १३.३५ प्रतिशत छ। उक्त अवधिमा ९ वटा संस्थाको बेसरेट १५ प्रतिशतमाथि १९.१७ प्रतिशतसम्म कायम छ।
साथै, उक्त अवधिमा १२ वटाको १४ प्रतिशतमाथि १४.९८ प्रतिशतसम्म, ५ वटाको १३ प्रतिशतमाथि १३.८५ प्रतिशतसम्म, ९ वटाको १२ प्रतिशतमाथि १२.९८ प्रतिशतसम्म, १० वटाको १० प्रतिशतमाथि ११.६४ प्रतिशतसम्म र ७ वटाको मात्रै १० प्रतिशतभन्दा कम बेसरेट कायम भएको देखिन्छ। प्राप्त तथ्यांकअनुसार सञ्चालनमा रहेका ५२ लघुवित्त संस्थामध्ये सबैभन्दा कम बेसरेट साना किसान लघुवित्तको ४.१७ प्रतिशत र सबैभन्दाम बढी नाडेप लघुवित्तको १९.१७ प्रतिशत रहेको छ।
यसबाहेक १५ प्रतिशतमाथि बेसरेट मातृभूमिको १७.६४ प्रतिशत, सामुादायिकको १६.३६ प्रतिशत, सुर्योदय वोमीको १६.१५ प्रतिशत, स्वास्तिकको १५.९१ प्रतिशत, नेरुडेको १५.७३ प्रतिशत, मानुश्रीको १५.५४ प्रतिशत र एनएमबि लघु वित्तको १५.४५ प्रतिशत बेसरेट कायम छ।