काठमाडौं। नेपालबाट हुने वस्तु तथा सेवाको निर्यात ७७.७७ प्रतिशतले बढेको छ।
भन्सार विभागले आज प्रकाशित गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८१/८२ को ११ महिना (साउनदेखि जेठसम्म)मा नेपालबाट २ खर्ब ४७ अर्ब ७५ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ। यो गत वर्षको तुलनामा ७७.७७ प्रतिशतले बढी हो।
गत आर्थिक वर्षको सोही अवधिमा नेपालबाट कुल १ खर्ब ३९ अर्ब ९२ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको थियो। निर्यातमा उल्लेख्य वृद्धि भएसँगै आयात पनि १३.१५ प्रतिशतले बढेको छ।
चालू आर्थिक वर्षको जेठसम्म विभिन्न मुलुकबाट १६ खर्ब ४४ अर्ब ७९ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।
गत वर्षको सोही अवधिमा १४ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको थियो, जुन चालू आर्थिक वर्षको तुलनामा १३.१५ प्रतिशतले कम थियो। गत वर्षको तुलनामा व्यापार घाटा ६.३० प्रतिशतले बढेको छ।
चालू आर्थिक वर्षको जेठसम्म नेपालको व्यापार घाटा १३ खर्ब ९७ अर्ब २२ करोड रहेको छ। गत वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा १३ खर्ब १४ अर्ब ४४ करोड रुपैयाँ थियो।
चालू आर्थिक वर्षमा गत आर्थिक वर्षको तुलनामा नेपालको समग्र वैदेशिक व्यापारमा वृद्धि भएको छ। चालू आर्थिक वर्षको ११ महिनामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपालको वैदेशिक व्यापार १८.८० प्रतिशतले वृद्धि भएर १८ खर्ब ९२ अर्ब ३६ करोड ७७ लाख ९९ हजार रुपैयाँ पुगेको छ।
वैदेशिक व्यापारमा चालू आर्थिक वर्षको ११ महिनामा आयात १३.१५ प्रतिशत र निर्यात ७७.७७ प्रतिशतले वृद्धि भएको भन्सार विभागको तथ्यांकले देखाएको हो।