काठमाडौं। गर्मी छल्न भारतीय पर्यटकहरु अहिले नेपाल आइरहेका छन्। भारतमा हुने अत्याधिक गर्मीका कारण बिदा मनाउने नजिकको गन्तव्यको रुपमा नेपाललाई बनाएसँगै काठमाडौं उपत्यकाबाहिरका होटलहरु भारतीय पर्यटकले गुल्जार भएको छ।
सडक मार्ग हुँदै भारतीय पर्यटकहरु अत्याधिक मात्रामा नेपाल आइरहेको होटल व्यवसायीहरुको भनाइ छ। सिद्धार्थ होटल संघ भैरहवाका अध्यक्ष एवं होटल (नानस)का सञ्चालक चन्द्रप्रकाश श्रेष्ठका अनुसार पछिल्लो केही सातादेखि भारतीय पर्यटकहरुको आगमनमा उल्लेख्य वृद्धि भएको छ।
‘गर्मी छल्नका लागि परिवारसहित भारतीय पर्यटकहरु आउने क्रम बढेको छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘भैरहवा हुँदै पहाडी क्षेत्र पाल्पालगायतका स्थानमा रहेका होटलसमेत अहिले भारतीय पर्यटकले भरिएका छन्।’ सुनसान जस्तै बनेको भैरहवा क्षेत्रको होटलमा भारतीय पर्यटकको आगमणले केही राहत व्यवसायीहरुले पाएको त्यहाँको व्यवसायीहरुको भनाइ छ।
भारतका अधिकांश ठाउँमा अहिले विद्यालय बिदा हुने भएकाले परिवारसहित निजी गाडी लिएर आउनेको संख्या बढ्दा नेपालगञ्जलगायतका क्षेत्रमा रहेका होटलहरु प्रायः भरिभराउ रहेको सिद्धार्थ हस्पिटालिटी ग्रुपका प्रमुख कार्यकारी अधिकृत(सिईओ) कृष्ण न्यौपानेले जानकारी दिए।
‘तराईसँग जोडिएका पहाडी क्षेत्रका होटलहरु अहिले भारतीय पर्यटकहरुले भरिएको छ,’ सिईओ न्यौपानेले भने, ‘काठमाडौंमा रहेका होटलको अकुपेन्सी दयनीय हुँदा बाहिरका होटलमा राम्रो व्यापार भइरहेको छ।’
भारतीयहरु प्रायः गर्मी छल्नका लागि जम्बु काश्मिर क्षेत्रमा जाने गरेका थिए। तर, केही महिनाअघि भएको आतंकवादी हमलापछि त्यस क्षेत्रमा जाने पर्यटक हिमाल हेर्न र चिसो खानका लागि नेपाल आउन थालेको व्यवसायीहरुको भनाइ छ।
पोखरा टुरिजम काउन्सिलका प्रथम उपाध्यक्ष एवं होटल रानीवन आर्केडका सञ्चालक हरि भुजेलका अनुसार पोखरामा रहेका होटलहरु अहिले भारतीय पर्यटकले भरिएको छ।

‘गर्मी छल्न निजी गाडी लिएर पोखरासहित जोमसोम हुँदै मुक्तिनाथसम्म जाने भारतीय पर्यटकहरु ह्वात्तै बढ्दा होटल भरिभराउ भएको छ,’ उपाध्यक्ष भुजेलले भने, ‘विगतको तुलनामा अहिले आउने पर्यटकको बसाइँ अवधी केही बढेको छ।’
नगरकोट नाल्दुम पर्यटन विकाश समितिका अध्यक्ष नवीन गुरुङका अनुसार नगरकोट क्षेत्रमा रहेका होटल तथा रिसोर्ट पनि अहिले भारतीय पर्यटकले भरिएका छन्। काठमाडौंभन्दा चिसो नगरकोटमा हुने भएकाले पनि डाँडाकाँडामा रहेका होटलमा भारतीयहरुको रोजाई परेको हुन सक्ने उनको भनाइ छ।
बसाइँ अवधीसँगै खर्चको प्रवित्ति बढ्दै
अन्य समयमा आउने भारतीयहरु अर्थात धार्मिक पर्यटकहरुको तुलनामा अहिलेको सिजनमा आउने पर्यटक खर्चालु रहेको व्यवसायीहरुको भनाइ छ। परिवारसहित घुम्न आउने र बिदा मनाउनका लागि आउने भएकाले तीन–चार दिनको प्याकेज बनाएर आउन थालेको व्यवसायीहरुको भनाइ छ।
यसअघि धेरै भारतीयहरु धार्मिक यात्राका लागि आउने गरेको र बसाइँ अवधी पनि एक-दुई दिन मात्र हुने गरेकोमा अहिले ५ दिनसम्मको बसाइँ रहने गरेको पोखरा टुरिजम काउन्सिलका प्रथम उपाध्यक्ष भुजेलको भनाइ छ। ‘परिवारसहित आउँदा खानपिनदेखि अन्य क्षेत्रमा समेत खर्च बढी गरिरहेका छन्,’ उनले भने, ‘अप्रत्यक्ष रुपमा काश्मिर आक्रमणको फाइदा नेपालले लिइरहेको छ।’
काठमाडौंका होटल ३० प्रतिशत अकुपेन्सीमा सिमित
उपत्यकाबाहिरका होटलहरु भारतीयले भरिभराउ हुँदा काठमाडौं उपत्यकाभित्र रहेका तारे होटलहरुको बुकिङ नाजुक स्थितिमा पुगेको छ। अहिले होटलहरुको अकुपेन्सी ३० प्रतिशतभन्दा तल रहेको होटल एसोसिएन अफ नेपाल(हान)का एक पदाधिकारीले जानकारी दिए।
‘हाम्रो अवस्था अहिले निकै नाजुक छ,’ ती पदाधिकारीले भने, ‘पर्यटक आइहाले पनि सस्तोमा दिने प्रतिस्पर्धाले ध्वस्त बनाएको छ।’