काठमाडाैं। रूपन्देहीस्थित बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ३६ करोड १३ लाख बराबरको बजेट ल्याएको छ। आज नगरसभाको सत्रौं अधिवेशनको तेस्रो बैठकमा उपमेयर सावित्रादेवी अर्यालले बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका लागि ३ अर्ब ३६ करोड १३ लाख बराबरको बजेट ल्याएको जानकारी दिएकी हुन्।
उनका अनुसार आन्तरिक स्रोततर्फ आगामी आर्थिक वर्षमा ९५ करोड आय हुने अनुमान पेस गरेकी छन्। बजेटमा आगामी आर्थिक वर्ष २०८२/८३ मा शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन र कृषिलाई विशेष प्राथमिकता दिइएको छ।
बुटवलको सपना, निजी क्षेत्रसँगको सहकार्यमा बुटवलको समृद्धिको परिकल्पना भन्ने मर्मसहित निजी क्षेत्रसँग सहकार्य गरी कार्यक्रम सञ्चालनका लागि १ करोड विनियोजन गर्ने बजेट वक्तव्यमा उल्लेख छ।
बुटवललाई पर्यटकीय विश्रामस्थलका रुपमा स्थापित गर्न पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्न ५० लाख र बुटवललाई सांस्कृतिक सहर बनाउन १ करोड १५ लाख रुपैयाँ छुट्ट्याइएको छ।
विद्यालयहरुको सुधार र न्यूनतम मापदण्ड पूरा गर्न ६ करोड, कृषि सुधार कार्यक्रमअन्तर्गत बुटवलका किसान हाम्रो सान कार्यक्रमका लागि १ करोड, छात्राहरुलाई निःशुल्क अध्ययनको व्यवस्था मिलाउने कार्यक्रम छोरी पढाउँ कार्यक्रमका लागि ५० लाख, विपन्न वर्गका बालबालिकाको पोशाक र शैक्षिक सुधारका लागि ३० लाख, सामुदायिक विद्यालयमा डिजिटल लर्निङ पोर्टल र कम्प्युटर शिक्षा सुधारका लागि १ करोड, स्थानीय पाठ्यक्रमलाई सुधार गर्ने कार्यका लागि ७० लाख बजेट छुट्ट्याइएको छ।