काठमााडौं। इरानले कतारस्थित अमेरिकी सैन्य अड्डामा हवाई आक्रमण गरेपछि सोमबार बेलुकीदेखि बन्द गरेको हवाई क्षेत्र (एयरस्पेस) आजदेखि पुनः खुलाएको घोषणा गरेको छ। कतारको नागरिक उड्डयन प्राधिकरणले हवाई यातायात सामान्य अवस्थामा फर्किएको घोषणा गरेको छ। हवाई क्षेत्र खुलेसँगै कतार एयरवेजले उडान पुनः सुरु गर्ने घोषणा गरेको दोहा न्यूजले जनाएको हो।
इरानी आक्रमणपछि कतारले आफ्नो हवाई आकाश बन्द गरेको थियो। सोही कारण नेपालसहित विश्वभरका हवाई उडान प्रभावित भएका थिए। दोहा न्यूजका अनुसार कतार एयरवेजले हमाद अन्तर्राष्ट्रिय विमानस्थल र अन्य प्रमुख विमानस्थलमा अवरोध हटाएर उडान पुनः सुरु गर्दा उडान तालिकामा उल्लेखनीय ढिलाइ हुने जनाएको छ।
कतारले अहिले कुनै गम्भीर खतरा नरहेको भन्दै त्रसित नहुन आफ्ना नागरिकलाई सुझाव दिएको छ। कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले अमेरिकी अल उदेइद हवाई अड्डामा इरानको क्षेप्यास्त्र आक्रमणपछि देशको अवस्था स्थिर भएको बताएका छन्। ’हामी नागरिक र बासिन्दालाई आश्वस्त पार्छौं कि कतारको अवस्था सामान्य छ। हाल जनजीवन सामान्यमा फर्किरहेको छ,’ अल–अन्सारीले कतार टेलिभिजनमा भनेका छन्।
दुई दिनअघि इरानी आणविक स्थलमा अमेरिकी आक्रमणको बदलास्वरूप सोमबार राती इरानले कतारमा रहेका अमेरिकी सेनाको अड्डामा आक्रमण गरेको थियो। कतारमा रहेको सबैभन्दा ठूलो अमेरिकी सैन्य अड्डा अल उदेइदलाई लक्षित गरी इरानले आक्रमण गरेको हो।
कतारस्थित अमेरिकी सैनिक अड्डामा हवाई आक्रमणपछि नेपालसहित विश्वभरका हवाई उडान प्रभावित भएका थिए।
नेपालबाट कतार जाने सबै उडान बन्द गरिएको छ। नेपालबाट कतार जाने कतार एअरवेज, नेपाल एयरलाइन्स, हिमालयन एयरलाइन्सलगायतले सोमबार बेलुकी अकस्मात उडान बन्द गर्दा विमानस्थल पुगेका यात्रुले सास्ती पाएका थिए। अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ।
उडान बन्द भएपछि नेपालबाट वैदेशिक रोजगारीका लागि जान लागेका अधिकांश यात्रु अलपत्र परेका थिए। साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दोहाका लागि उडेको विमान ओमानमा डाइभर्ट गरिएका थिए।
त्रिभुवन विमानस्थलको अध्यागमन प्रक्रिया र अन्तिम सुरक्षा जाँच सकेर जहाज उड्ने प्रतीक्षामा रहेका यात्रुलाई कतारमा मिसाइल आक्रमण भएकाले उडानमा ढिलाइ हुने सूचना दिइएपछि अन्योलमा देखिन्थे।
रोजगारीमा जाने मात्र नभएर कतारलाई ट्रान्जिट बनाएर विभिन्न मुलुकमा जाँदै गरेका यात्रुलाई पनि उडान अवरुद्ध चिन्तित थिए। कतिपय यात्रु त विमानस्थलभित्र भुइँमै सुतेका थिए।-एजेन्सी