काठमाडौं। इरानले कतारमा रहेको अमेरिकी सैन्य बेसमा सीमित बदलामूलक मिसाइल आक्रमण गरेपछि इजरायल र इरानले मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित युद्ध विराम योजना स्वीकार गरेका छन्। युद्ध भएको १२ दिनपछि युद्धको अन्त्य हुने भएको हो।
दुवै पक्षले सम्झौता स्वीकार गर्नुअघि तेहरानले इजरायललाई लक्षित गरी अन्तिम मिसाइल आक्रमण गरेपछि मंगलबार बिहान कम्तीमा चार जनाको मृत्यु भएको थियो। इजरायलले बिहान हुनुअघि इरानभरका ठाउँहरूलाई लक्षित गरेर हवाई आक्रमण गरेको थियो।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको समन्वयमा इरानसँग द्विपक्षीय युद्ध विराम गर्न इजरायल सहमत भएको बताएका हुन्।
नेतान्याहुले सोमबार राति इजरायलको सुरक्षा क्याबिनेटलाई इरानको आणविक र ब्यालिस्टिक मिसाइल कार्यक्रमको खतरा हटाउनलगायत इरानविरुद्धको १२ दिने अपरेसनमा इजरायलले आफ्ना सबै युद्ध लक्ष्यहरू हासिल गरेको जानकारी दिएको बताए।
इजरायलले इरानको सैन्य नेतृत्व र धेरै सरकारी साइटलाई पनि क्षति पुर्याएको र तेहरानको आकाशमा नियन्त्रण हासिल गरेको उनको दाबी थियो।
इरानले आफ्ना आक्रमणहरू रोक्नका लागि समयसीमा पार गरेको एक घण्टाभन्दा बढी समयपछि ट्रम्पले ट्रुथ सोसलमा लेखेका थिए, ‘युद्ध विराम अब प्रभावमा छ। कृपया यसलाई उल्लंघन नगर्नुहोस्। डोनाल्ड जे. ट्रम्प, संयुक्त राज्य अमेरिकाका राष्ट्रपति।’
इरानी राज्य टेलिभिजनले युद्ध विराम ७ः३० बजे (स्थानीय समय)मा लागू भएको तर इरानी अधिकारीले ट्रम्पको घोषणापछि कुनै टिप्पणी नगरेको बताएको छ।