काठमाडौं। इरानी राष्ट्रपति मसूद पेजेस्कियनले मंगलबार १२ दिने युद्धको अन्त्य भएको घोषणा गरी सबै सरकारी निकायलगायतका संस्थालाई पुनर्निर्माण केन्द्रित हुन आग्रह गरेका छन्।
पेजेस्कियनले युद्ध विराम लागू भएपछि इरानी जनतालाई दिएको सन्देशमा भने, ‘आज तपाईंको साहसी र ऐतिहासिक साथले हामी युद्ध विराम र इजरायलले इरानविरूद्ध लादेको १२ दिनको युद्धको अन्त्य गर्न सफल भयौँ।’
इजरायल आणविक नष्ट गर्ने र आणविक ज्ञानलाई कमजोर पार्ने साथै सामाजिक उत्तेजना गराउने लक्ष्यहरू हासिल गर्न असफल भएको उनको दाबी थियो।
यसैगरी, इजरायल र यसका सहयोगीले कब्जा गरिएका क्षेत्रमा महत्वपूर्ण सुविधा र केन्द्रको विनाशले विश्वलाई एउटा प्रमुख सन्देश पठाएको र इरानविरुद्धको दुस्साहसको मूल्य अत्यधिक भारी भएको भन्ने बुझाएको बताए।
मंगलबार यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँगको फोनवार्तामा पेजेस्कियनले आफ्नो देश वार्ताको टेबलमा अन्तर्राष्ट्रिय ढाँचाभित्र सबै मुद्दाहरू समाधान गर्न तयार रहेको बताएका थिए।
अमेरिका र इजरायलले इस्लामिक देशहरूबीच कलह र शत्रुता सिर्जना गर्न खोजिरहेको बताउँदै उनले इरानले यस क्षेत्रमा एकता र शान्ति बलियो बनाउन उनीहरूलाई विकासको गति बढाउन आधार मान्ने उल्लेख गरे।
शनिबार अमेरिकी, एयर फोर्सले तीन इरानी आणविक स्थल (फोर्डो, नटान्ज र इस्फहान)मा बम प्रहार गरेको थियो। यसको जवाफमा इरानले सोमबार कतारस्थित अमेरिकी एयर बेसमा मिसाइल प्रहार गरेको छ।
इरानको आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई पक्षबीचको युद्ध विराम मंगलबारदेखि सुरु हुने घोषणा गरेका थिए। यसलाई इरान र इजरायल दुवैले स्वीकार गरेका हुन्।