सियोल। दक्षिण कोरियाको श्रम तथा रोजगार मन्त्रालयमा एक ऐतिहासिक र प्रेरणादायी मोड आएको छ। पहिलो पटक, ब्लु-कलर श्रमिक एक पेशागत रेल चालक-किम यङ-हुन मन्त्रीको रूपमा नियुक्त हुने भएका छन्। यो परिवर्तनले 'श्रमिकबाट सरकारसम्म' भन्ने अवधारणालाई व्यवहारमा उतारेको छ।
५७ वर्षीय किम यङ-हुनले आफ्नो जीवनको अधिकांश समय रेलवेमा बिताएका छन्। कामको सिप र श्रमिकको वास्तविक पीडा बुझ्ने अनुभव बोकेका किमलाई राष्ट्रपति ली जे-म्युंगले श्रम मन्त्रालयको नेतृत्वका लागि मनोनयन गरेका हुन्।
जब मन्त्रीको सूची सार्वजनिक भयो। किम दक्षिण कोरियाको बुसानदेखि गिमछनको रेल चलाइरहेका थिए। उनले आफ्नो सिफ्ट सकिएपछि मात्र यो ऐतिहासिक खबर थाहा पाए।
किमको नेतृत्वमा श्रमिकसहितका एजेन्डाहरू- जस्तै कार्यस्थलमा सुरक्षा, साढे चार दिने कार्यसप्ताहको सम्भाव्यता र श्रमिक अधिकार विस्तार- प्राथमिकतामा रहने छन्। राष्ट्रपति प्रमुख सचिव काङ हुन-सिकका अनुसार, किमले श्रमिक वर्गको आवाज नीतिमा रूपान्तरण गर्न विशेष भूमिका खेल्ने छन्।
किम यङ-हुनले डोङ-ए विश्व विद्यालयबाट स्नातक गरेका हुन्। पछि सुंगकुङहोय विश्वविद्यालयको एनजिओ अध्ययन संस्थानबाट राजनीतिक नीति विषयमा स्नातकोत्तर गरेका छन्। उनले लामो समयसम्म कोरियन रेल श्रमिक युनियनको नेतृत्व पनि गरेका थिए।
किमको मनोनयनले दक्षिण कोरियाली समाजमा समानता, श्रमिक सम्मान र समावेशी नेतृत्वको नयाँ अध्यायको सुरुआत गरेको छ। परम्परागत रूपमा प्रशासनिक ब्याक ग्राउण्डबाट आउने मन्त्रीबीच अब श्रमिक वर्गका प्रतिनिधिले पनि नीति निर्माणमा भाग लिने अवसर पाउने छन् भन्ने सकारात्मक सन्देश यसले दिएको छ।
'अब मन्त्रालयको कुर्सीमा कोही ‘उपरी अधिकारी’ होइन, श्रमिकको पीडा भोगेका व्यक्ति छन्,' श्रमिक अधिकारकर्मीले प्रतिक्रिया दिएका छन्। किमको नियुक्ति केवल एक व्यक्तिको सफलता मात्र होइन। करोडौँ श्रमिकको आशा र आत्मबलको विजय पनि हो।