काठमाडौं। नबिल बैंकको नबिल सस्टेनेबल बैंकिङ पाँचाैं वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवका अवसरमा असार १५ देखि २१ सम्म बैंकले ‘नबिल ग्रीन विक’ मनाउन लागिएको बैंकले जनाएको छ । नबिल ग्रीन विकमा विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागितामा दिगोपना विषयमा केन्द्रित कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ।
साताव्यापी सञ्चालन हुने नबिल ग्रीन विकअन्तर्गत आयोजना हुने वेबिनार शृंखलामा नबिल बैंकका विज्ञसहित जीआईजेड नेपाल, सिम्पल इनर्जी प्रालि, विवाइडी, सिजी मोटर्सलगायतका प्रतिनिधिका साथै वातावरण, समाज तथा सुशासनसँग सम्बन्धित विज्ञ तथा कृषि क्षेत्रका जानकारहरु सहभागी हुनेछन् । उक्त कार्यक्रमले सोलार रुफटप सोलुसन, विद्युतीय सवारी साधन र दिगो कृषिका साथै वातावरण, समाज र शासनमा लगानीका विषयमा छलफल तथा ज्ञान आदानप्रदानमार्फत एकअर्कालाई जोड्ने उद्देश्य लिएको छ।
बैंकले नेपालको दिगो विकास लक्ष्य (एसडिजी)लाई आत्मसात गर्दै आफ्नो कारोबारमा वातावरण, समाज र सुशासनसँग सम्बन्धित सिद्धान्त अंगीकार गर्दै आएको छ। बैंकले आफूलाई बैंकिङमा मात्रै सीमित नराखी वातावरण संरक्षण, सामाजिक समावेशीकरण, मानव अधिकारको संरक्षण तथा नैतिक सुशासनको अभ्यासमा पनि केन्द्रित गर्दै आएको छ।
यसमा कार्बन फुटप्रिन्ट घटाउने, उत्तरदायी लगानीलाई प्रवद्र्धन गर्ने र वित्तीय साक्षरता विस्तार गर्ने कार्यमा आफूलाई केन्द्रित गर्दै आएको छ। बैंकले आर्थिक वृद्धिसँगै दीर्घकालीन सामाजिक र वातावरणीय मूल्य सृजनामा काम गर्दै आएको जनाएको छ।
नबिल बैंकले दिगो बैंकिङमार्फत विभिन्न उपलब्धि हासिल गरेको छ। हालसम्म पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सिङको मापदण्डअनुसार ग्रीनहाउस ग्यास उत्सर्जनका क्षेत्रमा नवीकरणीय ऊर्जा लगानीमार्फत ११ हजार १७२ टन उत्सर्जन न्यूनीकरणमा सहयोग पुर्याएको छ। २१ जिल्लाका ३७ वटा नदीमा सञ्चालनमा रहेका ३०७० मेगावाट क्षमताका ४३ वटा जलविद्युत् परियोजनामा बैंकले लगानी गरेको छ।
त्यसैगरी साना तथा मझौला व्यवसायअन्तर्गत विशेष गरी कृषि, विद्युतीय सवारी तथा महिला नेतृत्वमा आधारित उद्यममा लगानी गरी ४६ हजारभन्दा बढीलाई प्रत्यक्ष र अप्रत्यक्ष लाभ पुर्याएको छ।
गत आर्थिक वर्षसम्म बैंकले कृषि क्षेत्रमा मात्रै ४५.३८ अर्ब, जलविद्युत् तथा ऊर्जामा ३१ अर्ब रुपैयाँ र सुक्ष्म, घरेलु तथा साना उद्योगमा २५.०१ अर्ब रुपैयाँ लगानी गरिसकेको छ।
बैंकका अनुसार विद्युतीय सवारी कर्जामा मात्रै ४२.३६ प्रतिशत लगानी गरेको छ भने संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पाँच करोड ४३ लाख लगानी गरेको छ। हाल बैंकका १३ वटा शाखा तथा भवनमा नवीकरण ऊर्जा प्रणाली जडान गरिएको छ भने डिजिटल बैंकिङ प्रवद्र्धनमा सक्रियता देखाउँदै हाल एनबैंकका प्रयोगकर्ता १६ लाख आठ हजार ८२६ पुगेको बैंकको भनाइ छ।
बैंकले हालसम्म सात हजार ५९० जनालाई वित्तीय साक्षरतासम्बन्धी तालिम प्रदान गरिसकेको छ। वुमन इन मोसन, यु म्याटर युअर भ्वाइस म्याटर, नबिल ग्रीन विक, घर त नेपाल र दिगो पाइला जस्ता अभियानमार्फत बैंकले विभिन्न सरोकारवाला समूहलाई लक्षित काम गर्दै आएको छ।
सामाजिक उत्तरदायित्वअन्तर्गत नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसइई) कार्यक्रमबाट हालसम्म ९०१ जना प्रशिक्षार्थीले तालिम प्राप्त गरिसकिएका छन् भने १३३ जनाले उद्यम स्थापना गरी एक हजार २०० जनालाई रोजगारी दिइसकेका छन्।
दिगो बैंकिङअन्तर्गत सन् २०२१ मा बैंक पार्टनरसिप फर कार्बन अकाउन्टिङको सदस्य भएको थियो । बैंकका अनुसार दिगो बैंकिङको प्रमुख उपलब्धिको शाखारहित बैंकिङ विस्तार रहेको छ।
बैंकले वैदेशिक रोजगारीबाट फर्केकालाई लक्षित गरी नबिल स्किल्ड माइग्रेन्ट इन्टरप्रेनरसिप कर्जा, नबिल दिगो बचत खाता, नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जाजस्ता नवीन, सामाजिक र वातावरणमैत्री उत्पादन ल्याएको छ।