काठमाडौं। विश्वव्यापी मोबाइल बजारको तथ्यांक राख्ने स्टाटकाउन्टरका अनुसार नेपालमा मोबाइल फोन बजारको ६३ दशमलव ६८ प्रतिशत बजार हिस्सा तीन ब्रान्ड साओमी, सामसुङ र एप्पलले ओगटेका छन्।
बजेट फोनको रुपमा परिचित चिनियाँ ब्रान्ड साओमीले २४ दशमलव ७२ प्रतिशत हिस्सा ओगट्दा मध्यम मूल्य रेञ्जको कोरियन ब्रान्ड सामसुङकाे २२ दशमलव ३७ प्रतिशत बजार हिस्सा छ। त्यस्तै उच्च मूल्य रेञ्जको फोन बिक्री गर्ने अमेरिकी ब्रान्ड एप्पलकाे १६ दशमलव ५९ प्रतिशत बजार हिस्सा पाएको छ। नेपाली बजारमा यी तीन ब्रान्डबाहेक रियलमी, ओप्पो, भीभो, वानप्लसलगायत अन्य ब्रान्डका मोबाइल फोन बिक्री भइरहेका छन्।
बजार गुमाउँदै सामसुङ, बढ्दै आईफोन प्रयोगकर्ता
तथ्यांकअनुसार नेपाली बजारमा बजेट फोन वा उच्च मूल्य रेञ्ज भएका फोनको बिक्री बढिरहेको देखिन्छ। सन् २०२१ सम्म नेपाली बजारको ३५ प्रतिशत बढी बजारसहित एकछत्र राज गरेको सामसुङले सन २०२३ देखि बजार हिस्सा गुमाइरहँदा साओमी र एप्पलले भने बजार बढाइरहेका छन्।
पछिल्लो ५ वर्षमा सामसुङले १२ दशमलव ५३ प्रतिशतले बजार गुमाउँदा साओमीले ३ दशमलव ९ प्रतिशतले बजार बढाएको छ। ८ दशमलव ४३ प्रतिशत मात्र बजार रहेको एप्पलले यही अवधिमा दोब्बरले बढाएर १६ दशमलव ५९ प्रतिशत बजार हिस्सा पुर्याएको छ। एप्पलले पछिल्लो एक वर्षमा मात्रै झन्डै २ प्रतिशतले बजार बढाएको छ भने सामसुङ र साओमीले २ दशमलव ४९ प्रतिशतले बजार गुमाएका छन्।
विश्व बजार हिस्सामा एप्पल अगाडि रहेको छ। सन् २०२१ सम्म प्रतिस्पर्धा गरिरहेको एप्पलले ०२३ को सुरुदेखि नै सामसुङलाई पछाडि पारेको हो। पछिल्ल्लो ५ वर्षमा सामसुङले ५ दशमलव १३ प्रतिशतले बजार गुमाउँदा एप्पल, साओमीलगायतले बजार बढाएका छन्।
हाल विश्व बजारमा सामसुङको बजार हिस्सा २२ दशमलव ७१ हुँदा एप्पलको २६ दशमलव २९ छ। त्यस्तै ११ दशमलव ७ प्रतिशत बजार हिस्सासहित साओमी तेस्रो स्थानमा छ।
भारतीय बजारमा भीभोसँग प्रतिस्पर्धा गर्दै साओमी
भारतीय बजारमा भने भीभोसँग साओमी र मोटाेवालासँग एप्पलले प्रतिस्पर्धा गरिरहेका छन्। ५ वर्ष अगाडि भारतीय बजारको २७ दशमलव ८९ प्रतिशत एक्लैले ओगटेको चिनियाँ ब्रान्ड साओमीले १० प्रतिशत बढीले बजार गुमाउँदै हाल १७ दशमलव ९४ प्रतिशतमा झरेको छ।
सोही अवधिमा भारतीय ब्रान्ड भीभाेले ४ दशमलव १८ प्रतिशतले बजार बढाए १८ दशमलव ३८ प्रतिशतसहित सबैभन्दा धेरै बिक्री हुने मोबाइल फोन बनेको छ। भारतीय बजारमा सामसुङको पनि बिक्री अवस्था राम्रो छैन। २०२१ मा १९ दशमलव ७२ प्रतिशत बजार पाएको सामसुङले हल १२ दशमलव ९४ प्रतिशत बजार पाएको छ।
त्यस्तै एप्पलले भारतमा राम्रो बजार पाएको छैन। ५ वर्ष अगाडि २ दशमलव ५८ प्रतिशत बजार हिस्सा पाएकोमा हाल २ दशमलव ३१ प्रतिशतले बजार बढाएर ४ दशमलव ८९ प्रतिशत बजार पाएको छ, जुन अर्को ब्रान्ड मोटाेवाला बराबर हो। भारतीय बजारमा एप्पल नवाैं स्थानमा छ।