काठमाडौं। यातायात व्यवस्था विभागले तयार पारेको सवारी साधन आयातसम्बन्धी प्रस्तावित निर्देशिका २०८२ का सम्बन्धमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) र विभागबीच छलफल भएको छ। सवारी साधन आयात, उत्पादन तथा जडानसम्बन्धी प्रस्तावित निर्देशिका २०८२ का सम्बन्धमा नाडा र विभागबीच छलफल भएको हो।
नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले विभागका महानिर्देशक राजिव पोखरेलसँग भेटघाट गर्दै अटोमोबाइल क्षेत्रका विभिन्न समसामयिक विषयमा छलफल गरेका हुन्।
उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले सवारी साधन आयात, उत्पादन तथा जडानसम्बन्धी निर्देशिका २०८२ का सन्दर्भमा विभागले गरिरहेको अध्ययन र तयारीको प्रशंसा गरे। यसैबीच अध्यक्ष चौधरीले उक्त प्रस्तावित निर्देशिकामा भएका बुँदाबारे नाडा र विभागबीच विस्तृत छलफल गरी अघि बढनुपर्ने धारणा व्यक्त गरे।
छलफलकै क्रममा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले निर्देशिकामा उल्लेखित केही बुँदामा पुनर्विचार र शिलशिलाबद्ध छलफल आवश्यक रहेको बताए। उनले निर्देशिकालाई यथार्थपरक र व्यावहारिक बनाउन सरोकारवालाको सुझावलाई समेट्नु पर्ने बताए।
यसै क्रममा महासचिव सुरेन्द्रकुमार उप्रेतीले सरकारलाई गलत कार्य गर्नेहरूलाई दण्ड र सही कार्य गर्नेहरूलाई प्रोत्साहन गर्ने नीतिगत स्पष्टता आवश्यक रहेको उल्लेख गरे। उनले नेपालमै ब्याट्री उद्योगहरू स्थापना भएको बताए। विभागका प्राविधिक निर्देशक श्रीकान्त यादवले प्रस्तावित निर्देशिका तयार पार्ने क्रममा संयुक्त राष्ट्रसंघ तथा युरोपेली संघका मापदण्डको समेत अध्ययन गरिएको जानकारी दिए।
महानिर्देशक पोखरेलले यस विषयमा नाडा जस्तो मुख्य सरोकारवालाहरूसँग थप छलफल गरेर नीतिगत स्पष्टता ल्याइने बताए। साथै, नेपालमा अहिलेसम्म सवारी साधन आयातसम्बन्धी कुनै स्पष्ट नियम नभएकोले त्यसलाई व्यवस्थित बनाउन निर्देशिकाको तयारी भइरहेको जनाए। सोही क्रममा महानिर्देशक पोखरेलले यस विषयमा नाडासंग सहकार्य गरेर अघि बढ्ने बताएका छन्।