काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल अतिकम विकसित देश (एलडीसी)बाट स्तरोन्नतिपछि पनि बलियो साझेदारी र जलवायु मैत्री वित्तीयकरणका लागि विश्व समुदायसँग आग्रह गरेका छन्।
मंगलबार स्पेनको सेभिल्लास्थित फाइब्स सेभिल्ला प्रदर्शनी र सम्मेलन केन्द्रमा आयोजित 'सशक्तिकरणका लागि लचिलोपनः दिगो एलडीसी स्तरोन्नतीका लागि जलवायु स्मार्ट वित्तीयकरण' कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन्।
अध्यक्ष ढकालले सन् २०२६ मा अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति हुने विषय नेपालका लागि उपलब्धिसँगै चुनौतीपूर्ण रहेको बताए। उनले नेपालको एलडीसी स्तरोन्नति लागि तीन मापदण्डमध्ये दुई पूरा भएको भए पनि प्रतिव्यक्ति आय स्तर र जलवायु परिवर्तनको प्रभावप्रति उच्च जोखिममा रहेको उल्लेख गरे।
'नेपालमा धरै अवसर छन्। देशको ४० हजार मेगावाटभन्दा बढीको जलविद्युत सम्भावना छ। विश्वस्तरीय साहसिक पर्यटन गन्तव्यका रुपमा नेपाल परिचित छ। डिजिटल तथा सूचना प्रविधि सेवाहरूमा युवाको सहभागिता बढ्दो छ। तर, यो सम्भावनालाई वास्तविकतामा परिणत गर्न बलियो साझेदारी र जलवायुमैत्री वित्तीयकरणको आवश्यकता छ,' उनले भने।
नेपालको वित्तीय आवश्यकता ठूलो र बढ्दो क्रममा रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले त्यसका लागि विश्वसमुदायसँग सहयोग र सहकार्यका लागि आग्रह गरेका थिए।
'सरकारको राष्ट्रिय अनुकूलन योजनाले सन् २०५० सम्म जलवायु अनुकूलनका लागि करिब ४७ अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरेको छ। जुन वार्षिक रूपमा लगभग १.३ अर्ब डलर हो,' उनले भने।
उनले नेपालको कर राजस्व कुल ग्राहस्थ उत्पादनको (जीडीपी)को २० प्रतिशतबाट १६ प्रतिशतमा झरेको तथा हरित र दिगो क्षेत्रमा निजी क्षेत्रको लगानी अझै प्रारम्भिक चरणमा रहको उल्लेख गर्दै नेपालको लागि विकास साझेदार, क्षेत्रीय समकक्षी र दीर्घकालीन लगानीकर्ताको सहयोग आवश्यक रहेको बताए।