काठमाडौं। ललितपुर विशाल बजार मल्टिप्लेक्स कम्पनी (लबिम) मलले साढे ३५ करोड रुपैयाँ बढी आम्दानी गरेको छ। कम्पनीले सन् २०२४ मा ३५ अर्ब ६० लाख रुपैयाँ आम्दानी गरेको हो।
कम्पनीको आम्दानी एक वर्षको अवधिमा ३.१९ प्रतिशत अर्थात् १ करोड १० लाख रुपैयाँले बढेको छ। सन् २०२३ मा कम्पनीले ३४ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको थियो। साथै, सन् २०२२ मा २८ करोड १० लाख र सन् २०२१ मा २० करोड ५० लाख रुपैयाँ आम्दानी गरेको थियो।
कम्पनीले बैंकिङ कर्जा प्रयोजनका लागि इन्फोमेरिक्स रेटिङ एजेन्सीमा गराएको रेटिङ रिपोर्टअनुसार कम्पनीको आम्दानीमा ब्याज, कर, मूल्यह्रास र परिशोधन (ईबीआईटिडिए मार्जिन) अनुपात भने सन् २०२४ मा ६७.१७ प्रतिशत, २०२३ मा ६९.२१ प्रतिशत, २०२२ मा ६४.५१ प्रतिशत र सन् २०२१ मा ६४.५५ प्रतिशत रहेको छ। कुनैपनि कम्पनीको लागि यस्तो अनुपात कम भएको राम्रो हो। कम हुँदा खुदनाफामा वृद्धि हुन्छ।
कम्पनीले कुल ६३ करोड ६ लाख ५० हजार रुपैयाँ बैंकिङ कर्जाको लागि गराएको रेटिङमा इन्फोमेरिक्सले ६० करोड ६ लाख ५० हजार रुपैयाँ दीर्घकालिन कर्जाको लागि ‘बीबी’ रेटिङ दिएको छ भने ३ करोड अल्पकालिन चालू पुँजी कर्जाको लागि ‘एफोर’ रेटिङ दिएको छ।
कम्पनीको आम्दानी एक वर्षको अवधिमा ३.१९ प्रतिशत अर्थात् १ करोड १० लाख रुपैयाँले बढेको छ।
‘बीबी’ रेटिङले कम्पनीसँग हाल कर्जा तिर्न सक्ने क्षमता भए पनि भविष्यमा आम्दानी घट्ने वा नगद प्रवाह घट्ने जोखिम रहेको जनाउँछ। कम्पनीमा कुनै पनि प्रकारको आर्थिक परिवर्तनले बैंककाे कर्जा लगानी जोखिममा पर्न सक्ने देखिन्छ।
कम्पनीले पाएको अल्पकालिन कर्जाको ‘एफोर’ रेटिङले कम्पनीको छोटो समयको कर्जा तिर्ने क्षमता कमजोर रहेको र कर्जा लगानीमा जोखिम रहेको संकेत गर्छ। त्यसैले कुनै पनि बैंकले कम्पनीमा कर्जा लगानी गर्नु अघि सतर्कता अपनाउनु आवश्यक देखिन्छ। लबिम मलको पुरानो संरचना ढाँचा परिवर्तन गर्दा खर्च बढेको तर, कोरोना महामारी, आर्थिक मन्दी र ग्राहकको भौतिक उपस्थितिमा सामान खरिद क्रम घट्दा आम्दानी अपेक्षित नभएको देखिन्छ।
पाटन बहुमुखी कलेजको जग्गा २५ वर्षको लागि भाडामा लिएर राजेश कुमार सिद्धिले ललितपूरको पुल्चोकमा रहेको व्यापारिक कम्प्लेस लबिम मल सन् २००१ मा स्थापना गरेका हुन्। साे मलको ब्रान्डबाट भने सन् २०१६ देखि व्यवसाय सञ्चालन गरिएको हो। लबिम मलको मुख्य सेयरधनी सिद्धिको सेयर स्वामित्व भने ३७ प्रतिशत रहेको छ।