काठमाडौं। नेपाल राष्ट्र बैंकले समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका निक्षेपकर्ताहरूलाई प्रतिकित्ता (अंकित मूल्य) एक सय रुपैयाँमा सोही बैंकको सेयर बिक्री गर्ने भएको छ। एक वर्षअघि समस्याग्रस्त घोषणा गरेर हालसम्म सुधारात्मक कार्य गरिरहेको बैंकको सेयर अंकित मूल्यमै बिक्री गर्न लागिएको हो।
लामो समयदेखि वित्तीय संकटमा फसेको कर्णाली डेभलपमेन्ट बैंकलाई पुनर्जीवन दिने लक्ष्यका साथ राष्ट्र बैंकले निक्षेपकर्ताहरूको बचतलाई बैंकको सेयरमा रूपान्तरण (डिपोजिट टु इक्विटी स्वाप) गर्ने प्रक्रिया सुरु गरिसकेको छ। निक्षेपकर्तालाई पैसा फिर्ता दिन नसकेपछि उनीहरूलाई सोही बैंकको सेयरधनी बनाउन लागिएको हो।
विगत लामो समयदेखि वित्तीय समस्यामा फसेको कर्णाली डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले २०८१ पुस १० गते समस्याग्रस्त घोषणा गर्दै व्यवस्थापन आफ्नो नियन्त्रणमा लिएको थियो। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समूह गठन गरी बैंकेको केन्द्रीय कार्यालय बाँकेमा टोली पठाएको थियो। टोलीले २०८१ पुस ११ गतेदेखि बैंकको व्यवस्थापन सम्हालेको हो।
राष्ट्र बैंकले गत मंसिर १ गते एक सूचना जारी गर्दै कर्णाली डेभलपमेन्ट बैंकको संस्थापक र सर्वसाधारण गरी ३० सेयरधनीहरूको पुँजी घटाएर १०० कित्ता बराबर १ कित्ता कायम गर्ने निर्णय गरेको छ।
२०६० सालमा स्थापना भई बाँके, बर्दिया र दाङ जिल्लालाई कार्यक्षेत्र बनाएर सञ्चालनमा रहेको कर्णालीमा समस्याग्रस्त घोषणा हुने मितिसम्म कुल ४ अर्ब ६४ करोड ३१ लाख रुपैयाँ निक्षेप र २ अर्ब ९७ करोड ७६ लाख रुपैयाँ कर्जा रहेको छ। टोलीले बैंकको कर्जा असुली प्रक्रिया चलाउँदै निक्षेप समेत फिर्ता गरिरहेको छ। तर, बैंकको सम्पत्तिभन्दा बढी दायित्व भएपछि निक्षेप फिर्ता गर्न नसकिने अवस्थामा सर्वसाधारण निक्षेपकर्तालाई बैंकको सेयरधनी बनाउने गरी आवश्यक प्रक्रिया सुरु गरिएको राष्ट्र बैंकका उपनिर्देशक तथा व्यवस्थापन समूह संयोजक टीकाराम खतिवडाले बताए।
पुँजी घटाउने निर्णय
राष्ट्र बैंकले गत मंसिर १ गते एक सूचना जारी गर्दै कर्णाली डेभलपमेन्ट बैंकको संस्थापक र सर्वसाधारण गरी ३० सेयरधनीहरूको पुँजी घटाएर १०० कित्ता बराबर १ कित्ता कायम गर्ने निर्णय गरेको छ। सार्वजनिक सूचना जारी गर्दै उजुरी दावीको ७ दिनको समय दिएर सेयरधनीको नामावली नै सार्वजनिक गरिएको छ।
उजुरी दावीको समयावधि मंसिर ७ गतेसम्म हुने थियो, तर थप ७ दिनको समय दिनुपर्ने हुँदा मंसिर १५ गते उजुरी दावी नआएमा घटाइएको सेयरबाट बैंकको पुँजी झन्डै २२ करोड रुपैयाँले घट्ने खतिवडा बताउँछन्। अब भने 'डिपोजिट टु इक्विटी स्वाप' प्रक्रिया बढाउने कार्य तिव्र गरिएको उनले बताए।
"निक्षेपकर्ताहरूको बचतलाई बैंकको सेयरमा रूपान्तरण गर्नका लागि कम्पनी रजिस्ट्रार, धितोपत्र बोर्ड र सीडीएस एण्ड क्लियरिङसँग प्रक्रिया अगाडि बढिरहेको छ," राष्ट्र बैंकका उपनिर्देशक खतिवडाले क्यापिटल नेपालसँग भने, "धितोपत्र ऐनको व्यवस्थाअनुसार नै रूपान्तरण गरिने सेयरको अंकित मूल्य १०० कायम गरिनेछ। यसरी प्राप्त हुने सेयरलाई ६० प्रतिशत संस्थापक र ४० प्रतिशत सर्वसाधारण सेयरको अनुपातमा विभाजन गरिनेछ।"
उनका अनुसार कर्णाली डेभलपमेन्ट समस्याग्रस्त बैंक भएकाले सेयरको मूल्य प्रिमियममा नभई अंकित मूल्य १०० रुपैयाँमै जारी गरिनेछ, जुन संस्थापक र सर्वसाधारण दुवैलाई लागू हुन्छ।
कर्णालीमा आर्थिक अनियमितताको अपचलन २०७० सालदेखि नै सुरु भएको राष्ट्र बैंक र सीआईबीको अध्ययनले देखाएको छ।
यसका लागि राष्ट्र बैंकले कर्णालीका निक्षेपकर्ताहरूसँग छलफल गरिरहेको र आवश्यकताअनुसार केही दिनभित्रै सार्वजनिक आह्वान समेत गरिने उनले जानकारी दिए। इच्छुक निक्षेपकर्ताले आफ्नो निक्षेपवापत बैंकमा राखेको पैसाले सोही बैंकको सेयर खरिद गर्न पाउनेछन्। बैंकमा लामो समयदेखि चलेको अपचलनले हाल बैंकसँग निक्षेप फिर्ता गर्ने पैसा मौज्दात नभएपछि राष्ट्र बैंकले डिपोजिट टु इक्विटी स्वापको मोडालिटी अपनाएको हो।
दायित्व र सम्पत्तिबीच ठूलो अन्तर
कर्णालीमा आर्थिक अनियमितताको अपचलन २०७० सालदेखि नै सुरु भएको राष्ट्र बैंक र सीआईबीको अध्ययनले देखाएको छ। बैंकको कुल दायित्व ४ अर्ब ३३ करोड रुपैयाँ छ भने सम्पत्तिको मूल्य केवल २ अर्ब ४५ करोड रुपैयाँ मात्र रहेको छ। यसले गर्दा दायित्व र सम्पत्तिबीच १ अर्ब ८८ करोड रुपैयाँको ठूलो अन्तर देखिएको छ। यो अवस्था सिर्जना हुनुमा विगत एक दशकभन्दा बढी समयदेखि भएको आर्थिक अपचलन मुख्य कारण रहेको देखिन्छ। कर्णाली डेभलपमेन्ट बैंकलाई तत्काल खारेजी (लिक्विडेसन) मा पठाउँदा निक्षेपकर्ताहरूले ठूलो नोक्सानी व्यहोर्नुपर्ने अवस्था देखेपछि राष्ट्र बैंकले वैकल्पिक उपाय खोजी गरी निक्षेपलाई सेयरमा परिणत गर्ने विषय कार्यान्वयनमा लैजान लागेको हो।
संस्थागत निक्षेपकर्ताको समस्या
राष्ट्र बैंकलाई व्यक्तिगत निक्षेपकर्तालाई सेयरधनी बनाउन समस्या नभए पनि संस्थागत निक्षेपकर्ताको विषयमा भने समस्या देखिएको छ। बैंकमा १ लाख १ हजार १ सय २५ जना व्यक्तिगत र ६ हजार १ सय २२ संस्थागत गरी कुल १ लाख ७ हजार २ सय ४७ जना निक्षेपकर्ता छन्। जसमा बीमा कम्पनी, लघुवित्त वित्तीय संस्था र सहकारी संस्थाहरू छन्। बीमा कम्पनी र लघुवित्तहरू सेयरमा रूपान्तरण गर्न इच्छुक भए पनि सहकारी ऐनले नेस्कुन र सहकारी संस्थाहरूलाई बैंकको सेयर खरिद गर्न दिँदैन। यद्यपि, उनीहरूका व्यक्तिगत सदस्यहरू इच्छुक भएमा समायोजन गर्न सकिने विकल्पमा छलफल जारी छ।
विशेष साधारण सभाको तयारी
कर्णालीको विशेष साधारण सभाको तयारी समेत अन्तिम चरणमा रहेको खतिवडाले जानकारी दिए। उनका अनुसार राष्ट्र बैंकले एक-दुई दिनमा विशेष साधारण सभाको सूचना निकाल्ने र सभाबाट पुँजी पास भइसकेपछि मात्रै निक्षेपलाई सेयरमा रूपान्तरण गर्ने प्रक्रियाले औपचारिकता पाउनेछ।
हाल बैंक नियामकको नियन्त्रणमा रहेकाले विशेष साधारण सभा गर्ने अख्तियारी तीन जना व्यवस्थापन समूहका सदस्यहरूलाई मात्र छ। अरू सेयरधनीहरूलाई अहिले सभामा बोलाइने छैन।