काठमाडौं। दुई वर्षअघिबाट व्यावसायिक उत्पादन सुरु गरी बिक्री भइरहेको मनाङ भ्याली वाइन अब तेस्रो मुलुकमा निर्यात हुने भएको छ।
नेपाली बजारमा छोटो समयमै लोकप्रिय बनेको मनाङ भ्याली वाइन सन् २०२५ भित्रै जापान, हङकङ र बेलायतलगायत मुलुकमा निर्यात गर्न आवश्यक तयारी थालिएको मनाङ बेभरेजका निर्देशक आश्रय रञ्जितकारले जानकारी दिए। 
‘नेपालभित्र मात्र हैन, नेपालबाहिर पनि मनाङ भ्याली वाइनले राम्रो प्रतिक्रिया पाएको छ,’ निर्देशक रञ्जितकारले भने, ‘आउने आर्थिक वर्ष तीन मुलुकमा निर्यात गर्नेछौं। विस्तारै अन्य मुलुकमा पनि पठाउने योजनामा छौं।’ सीमित उत्पादन भएकाले नेपालभित्र पनि माग धान्न धौधौ परिरहेको उनले बताए।
नेपाली बजारमा छोटो समयमै लोकप्रिय बनेपछि नेपाली समुदाय बढी रहेका विदेश भूमिबाट धेरै माग आइरहेको उनको भनाइ छ। नेपालसहित बाहिरी मुलुकमा समेत निर्यातका लागि अहिले मनाङ भ्यालीले दुईटा उत्पादन थपेको छ।
कम्पनीले हालसम्म स्वीट ह्वाइट, सेमि स्वीट मात्र उत्पादन गरिरहेको थियो। तीन महिनाअघिबाट मनाङले ड्राइ ह्वाइट वाइन र रोज वाइन उत्पादन गरी बिक्री गरिरहेको छ। तीमध्ये ह्वाइट, सेमी स्वीटको मूल्य १ हजार २५ रुपैयाँ र ड्राई ह्वाइट र रोज वाइनको मूल्य १ हजार २५० निर्धारण गरिएको छ। नयाँ उत्पादनको मूल्य सेमी स्वीट र ह्वाइटको तुलनामा २२५ रुपैयाँले बढी छ।
नेपालमै उत्पादन भएको वाइनले पनि विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्छ भन्ने उदाहरणका रुपमा मनाङ वाइन रहेको उनको दाबी छ। नेपालमा पनि अहिले विस्तारै ड्राई वाइनमा धेरैको लत बस्न थालेको र अन्तर्राष्ट्रिय मापदण्डलाई आत्मसात् गर्दै तीन महिना अघिबाट ड्राई वाइन र रोज वाइन उत्पादन सुरु गरी बिक्री वितरण थालिएको उनले बताए। ड्राई र रोज वाइनमा कुनै पनि प्रकारको गुलियो हुँदैन।

सुरुमा उत्पादन गर्दा स्वीट र सेमी स्वीट भर्जनमा उपलब्ध गराइएको थियो। सामान्यतया नेपालीले सबैभन्दा धेरै मन पराउने वाइन श्रेणीभित्र स्वीट र सेमी स्वीट परेका छन्। नेपालको मात्र हैन, विदेशमा जतिबेला वाइन सुरुआत हुँदाताका नै धेरैले स्वीट वाइन उपभोग गरेका थिए। पछि विस्तारै वाइनको लत बस्दै सेमी स्वीट हुँदै ड्राई वाइनमा बानी पर्दै गएको वाइनपारखी बताउँछन्।
अहिले मनाङ भ्याली वाइनले वार्षिक १३ देखि १४ हजार केश उत्पादन गर्दै आएको छ। वाइनका लागि आवश्यक स्याउ पर्याप्त नहुँदा बजारमा माग गरेजति उत्पादन पठाउन नसकिएको कम्पनीको भनाइ छ। वर्षमा एकपटक मात्र उत्पादन हुने र किसानले पनि सकेसम्म बजारमै बिक्री गर्ने भएकाले धेरै मात्रामा वाइन उत्पादन गर्न नसकिएको हो।
पछिल्लो केही वर्षयता किसानको उत्पादनको बजारको ग्यारेन्टी गरेकै कारणले पनि स्याउको खेती बढ्न थालेको छ। गत वर्ष मात्र २० देखि २५ हजारभन्दा बढी विरुवा किसानले रोपेका छन्। ती विरुवाबाट उत्पादन आउनका लागि कम्तीमा पनि ३ देखि ५ वर्ष लाग्ने कम्पनीले जनाएको छ।
मनाङ बेभरेज प्रालिले मनाङ ङिस्याङ गाउँपालिका–४ हुम्देमा स्याउ उत्पादनलाई परिस्कृत गर्ने उद्देश्यले २०८० मा वाइन कारखाना सञ्चालनमा ल्याएको थियो। मनाङ बेभरेजले सञ्चालनमा ल्याएको यो कारखानासँग वार्षिक २ लाख लिटर वाइन उत्पादन क्षमता छ। कम्पनीले वाइन कारखाना सञ्चालनका लागि मात्रै करिब १० करोड रुपैयाँ लगानी गरेको छ।
गिफ्टको रुपमा मनाङ भ्याली
पछिल्लो समय नेपालबाट बाहिर जानेहरूले कोसेलीस्वरुप मनाङ भ्यालीका वाइन लैजाने गरेको कम्पनीले जनाएको छ। नेपालकै उत्पादन मनाङ भ्यालीका वाइन शुद्ध रुपमा स्याउबाट मात्र बनेको कारणले पनि धेरै नेपालीले कोसेलीको रुपमा लैजाने गरेको निर्देशक रञ्जितकारले बताए।
‘अहिले निर्यातका लागि सोधीखोजी आउनुको मुख्य कारण पनि कोसेलीको रुपमा विदेशमै पुगेकाले हो,’ निर्देशक रञ्जितकारले भने, ‘मागअनुसार उत्पादन गर्न नसक्दा पर्याप्त मात्रामा पठाउन सकिएको छैन, जति सकिन्छ, त्यति नै पठाउँछौं।’