काठमाडौं। राइड सेयरिङ र लजिस्टिक सेवा प्रदायक पठाओ नेपालले आफ्नो डेलिभरी सेवा ‘पठाओ पार्सल’अन्तर्गत नयाँ योजना सार्वजनिक गरेको छ। ‘डेलिभरीको ग्यारेन्टी’ शीर्षकमा ल्याइएको यो अभियान यही असार १९ देखि साउन १५ सम्म सञ्चालन हुनेछ।
कम्पनीका अनुसार यस योजनाअन्तर्गत पठाइएका कुनै सामान पठाओ पार्सलले तोकिएको समयमा ग्राहकसम्म पुर्याउन नसकेर अर्डर रद्ध भए मर्चेन्टले सामानको मूल्य बराबरको पैसा र सामान दुवै फिर्ता पाउनेछन्। तर, पठाओले समयमै डेलिभरी गर्न खोज्दा ग्राहक सम्पर्कमा नआउने, फोन नउठाउने वा अर्डर रिसिभ गर्न अस्वीकार गर्ने अवस्थामा यो सुविधा लागू हुने छैन।
बाढीपहिरो, यातायात अवरुद्ध, हड्तालजस्ता बाह्य कारणका कारण ढुवानीमा ढिलाइ भएमा पनि यो ग्यारेन्टी लागू नहुने कम्पनीले स्पष्ट पारेको छ। यस अफरले केवल पठाओको गल्तीका कारण डेलिभरी समयमै हुन नसकेको खण्डमा मात्र मर्चेन्टलाई सुरक्षा प्रदान गर्नेछ।
पठाओ नेपालकी निर्देशक सुरक्षा हमालले भनिन्, ‘हामी हाम्रो सेवालाई अझ जिम्मेवार र भरपर्दो बनाउन प्रतिबद्ध छौं। ‘डेलिभरी ग्यारेन्टी’ जस्ता पहलमार्फत व्यवसायी र ग्राहक दुवैको कारोबारलाई सहज, सुरक्षित र भरोसायोग्य बनाउनेछौं।’
योजनाले व्यवसायी र ग्राहकबीच डेलिभरीप्रतिको विश्वास बढाउने कम्पनीको विश्वास छ। अब व्यवसायीले आफ्नो सामान समयमा पुग्ला कि नपुग्ला भन्ने चिन्ताबाट मुक्त हुनेछन्। नयाँ मर्चेन्टलाई लक्षित गर्दै कम्पनीले विशेष अफर ल्याएको छ।
अभियान अवधिभर नयाँ दर्ता हुने मर्चेन्टले पहिलो एक हप्ताभित्र पठाएका १०० अर्डरसम्म निःशुल्क डेलिभरीको सुविधा पाउनेछन्।
पठाओ नेपालले हाल नेपालभर आधुनिक र भरोसायोग्य डेलिभरी सञ्जाल विस्तार गरिरहेको छ। यस अभियानले पठाओलाई अझ बढी ग्राहक केन्द्रित र व्यवसायमैत्री डेलिभरी प्लेटफर्मको रूपमा स्थापित गर्नेछ।