काठमाडौं। स्वदेशी र विदेशी फलफूलबाट बनेको वाइनको अन्तःशुल्कमा विभेद देखिएको छ। स्वदेशी फलफूलबाट बनेको वाइनमा अन्तःशुल्क प्रतिलिटर ५१६ छ भने विदेशबाट आयातीत फलफूल (अंगुर)बाट बन्ने वाइनमा ४६५ रुपैयाँ रहेको छ।
स्वदेशी फलफूललाई प्रोत्साहन गर्नुपर्नेमा सरकारले उल्टै विदेशबाट आयातीत अंगुरबाट बनेको वाइनलाई प्रोत्साहन गरेको व्यवसायीको गुनासो छ।
वाइन उत्पादक संघका अध्यक्ष आश्रय रञ्जितकारले स्वदेशी र विदेशबाट आयातीत फलफूलबाट बन्ने वाइनमा लाग्ने अन्तःशुल्क समान बनाउन सरकारसँग लामो समयदेखि आग्रह गरिरहेको बताए। ‘बजारमा प्रतिस्पर्धा गर्न स्वदेशी एवं विदेशबाट आयातीत फलफूलबाट बन्ने वाइनको अन्तःशुल्क समान हुन आवश्यक छ,’ अध्यक्ष रञ्जितकारले भने, ‘यसो हुँदा व्यवसायीलाई मात्र हैन, किसानलाई समेत प्रत्यक्ष फाइदा पुग्छ।’
स्वदेशी फलफूलमा स्याउ, नासपाती, किवीबाट वाइन उत्पादन गरिँदै आएको छ। विदेशबाट अंगुर आयात गरेर वाइन बनाइँदै आएको छ। उसै पनि नेपालमा अगुंर पर्याप्त मात्रामा उत्पादन नहुने र विदेशबाट आयात गर्नुपर्ने बाध्यता भएकाले किसानलाई खासै फाइदा हुँदैन।
७/८ वर्षअघिसम्म स्वदेशी र विदेशबाट आयातीत फलफूलबाट बन्ने वाइनको अन्तःशुल्क समान भए पनि पछिल्ला केही वर्षदेखि अन्तर गरिदिँदा स्वदेशी फलफूलमा निर्भर वाइन उद्योगले प्रतिस्पर्धा गर्न समस्या भएको व्यवसायी बताउँछन्।
‘एकातिर अंगुर खरिदका लागि ठूलो मात्रामा विदेशी मुद्रा बाहिरिरहेको हुन्छ,’ अर्का एक व्यवसायीले भने, ‘योभन्दा स्वदेशी फलफूललाई प्रोत्साहन गर्ने उद्देश्यले अन्तःशुल्क घटाइए वाइन उत्पादनमा अझ धेरै फलफूल खपत हुन्छ।’
व्यवसायीका अनुसार विगत ७/८ वर्षअघिसम्म स्वदेशी र विदेशबाट आयातीत फलफूलबाट बन्ने वाइनको अन्तःशुल्क समान थियो। तर, पछिल्लो केही वर्षदेखि अन्तःशुल्कमा अन्तर गरिदिँदा स्वदेशी फलफूलमा निर्भर वाइन उद्योगले प्रतिस्पर्धा गर्न समस्या भएको व्यवसायी बताउँछन्।
हार्मुनियम कोडअनुसार फरक बनाए पनि स्वदेशी र विदेशबाट आयातीत फलफूलबाट बन्ने वाइनको अन्तःशुल्क एकनासे बनाउन सके प्रतिस्पर्धा गर्न अझ सहज हुने वाइन उत्पादक संघ अध्यक्ष रञ्जितकारको भनाइ छ।
आन्तरिक राजस्व विभाग पनि स्वदेशी र विदेशबाट आयातीत फलफूलबाट बन्ने वाइनको समान अन्तःशुल्क राख्न तयार रहेको व्यवसायी बताउँछन्। अहिले विभागले वाइन उद्योगका लागि आवश्यक गाइडलाइन बनाइरहेको जनाएको छ। सो गाइडलाइनमा अन्तःशुल्क समान हुने विषय समेट्ने आश्वासन विभागले व्यवसायीलाई दिइरहेको बताइएको छ।
विभागका महानिर्देशक मदन दाहालले भने स्वदेशी र विदेशबाट आयातीत फलफूलबाट बनेका वाइनमा कुनै विभेद नगरिएको बताए। ‘अझ पछिल्लो केही वर्षदेखि स्वदेशी वाइनलाई सरकारले प्रोत्साहन गरिरहेको छ,’ महानिर्देशक दाहालले भने, ‘३५ प्रतिशत छुटले स्वदेशी उद्योगलाई धेरै राहत पुगेको छ।’
३५ प्रतिशत छुटको सहुलियत दुवैलाई
अन्तःशुल्कमा विभेद भए पनि स्वदेशी उद्योगलाई दिँदै आएको ३५ प्रतिशत छुट स्वदेशी र विदेशबाट आयातीत फलफूलबाट उत्पादन भएका वाइन उद्योगले पाइरहेका छन्।
सरकारले आन्तरिक उद्योगलाई प्रोत्साहन गर्ने उद्देश्यले केही वर्षदेखि स्वदेशी वाइन उद्योगलाई ३५ प्रतिशत छुट दिँदै आएको छ।
यो बीचमा अन्तःशुल्कमा भएको वृद्धिको कारण धेरै स्वदेशी वाइन उद्योग बन्द भएको व्यवसायीको भनाइ छ। केही वर्ष अघिसम्म ५०० देखि ५५० रुपैयाँसम्ममा पाइने वाइनको मूल्य ह्वात्तै बढेर अहिले १००० रुपैयाँ बढी पुगिसकेको छ। यसको मुख्य कारण अन्तःशुल्क रहेको व्यवसायीको दाबी छ।