काठमाडौं। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ११ महिनामा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ५१७ अर्ब ६० करोड (८.० प्रतिशत) ले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ५१४ अर्ब ५७ करोड (९.० प्रतिशत) ले बढेको थियो।
वार्षिक बिन्दुगत आधारमा २०८२ जेठमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १२.० प्रतिशतले बढेको छ। २०८२ जेठमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.७ प्रतिशत, ३६.२ प्रतिशत र ५०.२ प्रतिशत रहेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ५.२ प्रतिशत, २९.१ प्रतिशत र ५८.५ प्रतिशत थियो। २०८२ जेठसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.५ प्रतिशत छ भने २०८१ जेठसम्म यस्तो निक्षेपको अंश ३६.० प्रतिशत थियो।
आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४०७ अर्ब ६२ करोड (८.० प्रतिशत) ले बढेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २४६ अर्ब ८० करोड (५.१ प्रतिशत) ले बढेको थियो ।बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.२ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा १२.९ प्रतिशत, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ५.२ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १३.५ प्रतिशत, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ८.८ प्रतिशत र उपभोग्य क्षेत्रतर्फको कर्जा १०.९ प्रतिशतले बढेको छ।