काठमाडौं। महालेखा नियन्त्रक कार्यालयले असार २५ पछि चेक जारी गर्न सरकारी निकायलाई मनाही गरेका कारण आज सरकारी खर्च भुक्तानीको अन्तिम दिन रहेको छ।
आर्थिक वर्ष २०८१/८२ मा सरकारी खर्चका लागि भुक्तानी गर्ने अन्तिम दिन हुँदा अत्यावश्यकबाहेकका खर्चको भुक्तानी आज दिइसक्नुपर्ने महालेखाले जनाएको छ।
महालेखा कार्यालयका अनुसार सरकारले मंगलबारसम्म ७८.८४ प्रतिशत मात्रै सरकारी खर्च गरेको छ। बजेटमा सरकारले चालू आवका लागि १८ खर्ब ६० अर्ब ३० करोड खर्च गर्ने लक्ष्य लिएको थियो।
यसमध्ये चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब २८ करोड खर्चिने लक्ष्य थियो। कुल बजेटमध्ये सरकारले पछि संशोधन अनुमान गर्दै १६ खर्ब ६२ अर्ब ३७ करोडमा समेटेको थियो।
महालेखाका अनुसार असार २४ सम्म १४ खर्ब ६६ अर्ब ५८ करोड खर्च भएको छ। सरकारले आज अन्तिम दिन १ खर्ब साढे ९५ अर्ब बढी भुक्तानी दिनुपर्नेछ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार मलेनिका, प्रदेश लेखा नियन्त्रक कार्यालय प्रलेनिका र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय कोलेनिकाले सञ्चालन गर्ने खाता बन्द गरिने मलेनिकाका प्रवक्ता सुशीला अर्यालले जानकारी दिइन्।
उनका अनुसार चालू आर्थिक वर्ष २०८१/८२ का लागि सिर्जित दायित्वको बजेट रकम निकासा गर्ने आज अन्तिम दिन हो। आज रातीदेखि स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र), एकल खाता कोष प्रणाली (टिएसए) र कम्प्युटरकृत सरकारी लेखाप्रणाली (सिगास)एक साताका लागि बन्द हुनेछन्।
अघिल्ला वर्षमा मलेनिकाले सबै प्रलेनिका र कोलेनिकालाई असार अन्तिम साता बजेट निकासा रोक्न परिपत्र गर्ने गरेकामा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र कार्यविधिमा भएको बाध्यकारी व्यवस्थाका कारण यस वर्ष परिपत्र नगरिएको अर्यालले बताइन्।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको नियम ३० मा आर्थिक वर्ष समाप्त हुन एक साताअघि भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था छ। विनियोजन ऐनले ‘फ्रिज’ नहुने भनी तोकेको शीर्षकबाहेक अन्य रकम भुक्तानी गर्न पाइँदैन।
अत्यावश्यक प्रयोजनमा भएको खर्चका लागि मलेनिकाको सहमति लिएर मात्रै भुक्तानी गर्न सकिने व्यवस्था नियमावलीमा रहेको प्रवक्ता अर्यालले जानकारी दिइन्।