काठमाडौं। नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यलाई बिहीबार बेलुकी ५ बजे बैठक बस्न बोलाइएको छ। आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्न अन्तिम तयारीमा पुगेको समय राष्ट्र बैंकले सञ्चालक समिति बैठक एजेन्डाबिनै बोलाइएको हो।
मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३ (प्रथम संशोधन, २०७९) ले नयाँ मौद्रिक नीति जारी गर्न आर्थिक वर्ष समाप्त भएको १५ दिनसम्म समयावधि दिएको छ।
यसअघिका मौद्रिक नीति सोहीनुरुप साउन दोस्रो साताबीचमै सार्वजनिक भइरहेका थिए। तर, नयाँ गभर्नर डा. विश्वनाथ पौडेलले कार्यविधिले दिएको समयसीमाभन्दा तीन साताअघि नै २४औं मौद्रिक नीति जारी गर्ने तयारी छ।
यसका लागि गभर्नर पौडेलल् आर्थिक अनुसन्धान विभागले तयार गरेको मौद्रिक नीतिको मस्यौदामा मंगलबारदेखि नै व्यवस्थापन समितिसँग छलफल गरिरहेका छन्।
आज दिउँसो मस्यौदालाई व्यवस्थापन समितिबाट टुंगो लगाएर साँझ सञ्चालक समितिबाट पारित गर्ने सक्ने सम्भावना छ। सोही कारण पौडेलले गभर्नर कार्यालयलाई सञ्चालक समिति बैठक एजेन्डाबिनै बोलाउन लगाएको प्रस्ट हुन्छ।
यसअघिका गभर्नरले समेत मौद्रिक नीति र त्रैमासिक समीक्षा मस्यौदामा सञ्चालक समिति सदस्यलाई बैठकमा बिनाएजेन्डा बोलाउने गरेका थिए। एजेन्डा राखेर बोलाउँदा आगामी मौद्रिक नीतिबारेका विषय सार्वजनिक हुनुअगावै बाहिरिन सक्ने सम्भावना हुँदा उक्त प्रचलन रहेको पाइन्छ।
व्यवस्थापन समितिले बिहीबार मौद्रिक नीतिलाई अन्तिम रुप दिएपछि पारित गर्न बोर्ड बैठक डाकिएको हो। बोर्डबाट पारित भए आजै मौद्रिक नीति सार्वजनिक हुनेछ।