काठमाडौं। चीनको ईभी बजारमा बीवाईडीले मे महिनामा पनि अग्रस्थान कायम राख्न सफल भएको छ। चिनियाँ पैसेंजर कार एसोसिएसनले सार्वजनिक गरेको तथ्यांकअनुसार बीवाईडीले २ लाख ९३ हजार २१ युनिट बिक्री गर्दै २८.५ प्रतिशत बजार हिस्सा ओगटेको छ।
यो सेयर अप्रिलको २९.७ प्रतिशत र २०२४ को मे महिनाको ३३.४ प्रतिशतभन्दा केही घटेको हो। यो तथ्यांक चिनियाँ मिडिया सिएनइभीपोस्टले प्रकाशित गरेको छ।
अर्कोतर्फ, अमेरिकी कम्पनी टेस्लाले मे महिनामा ३८ हजार ५८८ युनिट सवारी साधन बिक्री गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा बिक्री भएको ५५ हजार २१५ युनिटको तुलनामा ३०.१ प्रतिशतले घटेको हो। टेस्लाले ३.८ प्रतिशत बजार हिस्सा ओगट्दै अप्रिलको जस्तै आठौं स्थानमा कायम रह्यो। यो सेयर अप्रिलको ३.२ प्रतिशतभन्दा माथि भए पनि २०२४ को मे महिनाको ६.९ प्रतिशतभन्दा निकै कम हो।
जिलीले भने १ लाख ३० हजार ३९८ युनिट बिक्री गर्दै १३२.१ प्रतिशतको वृद्धिसहित दोस्रो स्थान ओगटेको छ। जिलीको बजार हिस्सा १२.७ प्रतिशत रहेको छ।
त्यस्तै, चाङान अटोमोबाइलले ७३ हजार ९९३ युनिट बिक्री गर्दै तेस्रो स्थान पाएको छ भने यसको बजार हिस्सा ७.२ प्रतिशत रहेको छ। लिपमोटर ४.० प्रतिशत हिस्सासहित छैटौं, ली अटो ४.० प्रतिशत बजार हिस्सासहित सातौं स्थानमा रहेका छन्।
पाँच महिनाको समग्र स्थिति
सन् २०२५ को पहिलो पाँच महिनाको अवधिमा बीवाईडी चीनको ईभी बजारमा १२ लाख ५७ हजार ९६१ युनिट बिक्री गर्दै २८.९ प्रतिशत बजार हिस्सा ओगट्दै शीर्षस्थानमा रह्यो।
जिलीले ५ लाख ७० हजार ९९० युनिट बिक्री गर्दै दोस्रो स्थान १३.१ प्रतिशत हिस्सा, चाङानले २ लाख ९१ हजार १७५ युनिट बिक्री गर्दै तेस्रो स्थान ६.७ प्रतिशत हिस्सा, र टेस्लाले २ लाख १ हजार ९२६ युनिट बिक्री गर्दै पाँचौं स्थान ४.६ प्रतिशत हिस्सा लिएका छन् ।
सबै प्रकारका गाडी बिक्रीमा पनि बीवाईडी अगाडि
बीवाईडीले मे महिनामा कुल खुद्रा बिक्रीमा १५.१ प्रतिशत बजार हिस्सा ओगट्दै समग्र यात्रु सवारी बजारमा समेत पहिलो स्थानमा रह्यो।
त्यस्तै, जिलीले २ लाख ५ हजार ९३ युनिट बिक्री गर्दै १०.६ प्रतिशत हिस्सासहित दोस्रो, र चाङानले १ लाख ३५ हजार ३३० युनिट बिक्री गर्दै ७.० प्रतिशत हिस्सासहित तेस्रो स्थानमा स्थान बनाएका छन्।
चिनियाँ कम्पनी सेरेस गु्रप अन्तर्गतको सेरेस ब्राण्डको बिक्री भने दयनिय अवस्थामा रहेको छ। चाइनामा गाडी बिक्रीको तथ्याँक राख्ने ग्यासगुका अनुसार सेरेस ब्राण्डअन्तर्गतको सेरेस ३ को बिक्री विवरण नै उपलब्ध छैन। चीनमा सेरेस ३ लाई फेनगन इ ३ भनेर बिक्री गर्ने भएपनि सो मोडलको बिक्री पनि समावेश छैन। वेवसाइटले सेरेसको बिक्रीलाई शून्यमा देखाएको छ। तर सेरेस ग्रुपअन्तर्गतको एआईटिओ ब्राण्डमा बिक्रीको तथ्यांक भने उपलब्ध गराएको छ।

सेरेसअन्तर्गतको एआईटीओ ब्रान्डले मे महिनामा कुल ३६ हजार ३७२ युनिट गाडी बिक्री गरेको छ। यो बिक्री अघिल्लो महिनाको तुलनामा ३४.४७ प्रतिशतले वृद्धि भएको हो। वार्षिक रूपमा हेर्दा पनि एआईटीओ गाडीहरूको बिक्रीमा १२.३४ प्रतिशत वृद्धि देखिएको छ।
एआईटीओ मोडेलहरूको बिक्री विवरण
एआईटीओ एम८ आरईईभी रेंज विस्तार गरिएको विद्युतीय सवारीसाधन मे महिनामा सबैभन्दा धेरै बिक्री भएको मोडेल बन्यो। यसको १४ हजार ४७१ युनिट बिक्री भयो, जुन अघिल्लो महिनाको तुलनामा २१६.६५ प्रतिशतले वृद्धि हो।
एआईटीओ एम९ आरईईभी ले १२ हजार ४९३ युनिट बिक्री गर्दै दोस्रो स्थान हासिल गर्यो। यसमा १०.६८ प्रतिशत मासिक वृद्धि देखिएको भए पनि वार्षिक रूपमा १५.१६ प्रतिशतले घटेको छ।
एम७ मोडेलले ४,११६ युनिट बिक्री गर्दै २.२९ प्रतिशत मासिक वृद्धि गरेको छ। तर, अघिल्लो वर्षको तुलनामा ५९.५८ प्रतिशतको गिरावट आएको छ।
एम५ को बिक्री ३,६८० युनिटमा सीमित रह्यो। यो मासिक रूपमा २१.९८ प्रतिशतले र वार्षिक रूपमा १८.९८ प्रतिशतले घटेको छ। एआईटीओ एम ९ बीईभीको १ हजार ५७४ युनिट बिक्री भएको छ, जसमा मासिक १५.३८ प्रतिशत र वार्षिक ९.४४ प्रतिशतको गिरावट आएको छ।
एम ५ ईभी ले जम्मा ३८ युनिट मात्र बिक्री गर्न सकेको छ, जुन अघिल्लो महिनाको तुलनामा ९३.५५ प्रतिशत र अघिल्लो वर्षको तुलनामा ९६.८१ प्रतिशतले घटेको हो।
सेरेसअन्तर्गत एआईटीओको कुल बिक्री ३६ हजार ३७२ युनिट पुगेको छ भने हालसम्मको वर्षभरिको बिक्री १ लाख ८ हजार ६९९ युनिट रहेको छ। ल्याण्डियन ब्रान्डतर्फ भने कुनै पनि बिक्री भएको छैन। सेरेसको बजारमा उपस्थितिको हाल एआईटीओ मोडेलहरूमै केन्द्रित देखिन्छ।