काठमाडौं। नेपालमा बर्सेनि करिब ३५ लाख टन मकै आपूर्ति भइरहेको सरकारी तथ्यांक छ। यसमध्ये ८० देखि ९० प्रतिशत नेपाली उत्पादन र २० देखि १० प्रतिशत मकै आयातीत छ। यो मकै विशेषगरी पशुपन्छी क्षेत्र र खाद्यान्नमा प्रयोग हुने दाबी गरिएको छ।
नेपालमा आपूर्ति भएको पछिल्लो पाँच वर्षको तथ्यांक हेर्दा माग केही बढेको देखिन्छ। आयातीतभन्दा उत्पादन वृद्धि भएको तथ्यांकले देखाउँछ। तर, मकैको तथ्यांक विश्वास नलाग्ने छ। सबै भन्दा बढी प्रयोग हुने भनिएको पशुपन्छीको दाना क्षेत्रमा हो।
देशभर ११३ दाना उद्योगले वार्षिक रुपमा ७ लाख टन मकै मात्रै खपत गर्छन्। यसले ३५ लाख टन मकैमध्ये ७ लाख टन दाना उद्योगले खपत गर्दा २८ लाख टन मकै बाँकी हुन्छ। नेपालको राष्ट्रिय जनगणना २०७८ अनुसार देशभर २ करोड ९१ लाख ६४ हजार ५७८ जनसंख्या छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री भरतसिंह भण्डारीले असार २४ को प्रतिनिधिसभा बैठकमा ६७ लाख २ हजार १८४ जना श्रम स्वीकृति लिएर विदेश गएको तथ्यांक प्रस्तुत गरे। यसलाई आधार मान्ने हो भने हाल नेपालमा २ करोड २४ लाख ६२ हजार ३९४ जनसंख्या छ।
२८ लाख टन मकैलाई किलोमा गणना गरिँदा २ अर्ब ८० लाख केजी हुन आउँछ। अर्थात् प्रतिव्यक्ति १ सय २४ केजी भागमा पर्छ। यो मकै वार्षिक रुपमा घरायसी पशुपन्छीलाई खुवाउन र व्यक्ति आफूले खाना प्रयोग गर्छ भन्ने प्रश्न खडा हुन्छ।
नेपाल दाना उद्योग संघ अध्यक्ष रविन पुरी अनुसार नेपालमा वार्षिक १२ लाख टन दाना उत्पादन हुन्छ, जसका लागि ११३ दाना उद्योग सञ्चालनमा छन्। यी उद्योगको कुल क्षमता १८ लाख टन भए पनि हाल १२ लाख टन मात्र उत्पादन भइरहेको छ। दाना उत्पादनमा मुख्य रूपमा मकै प्रयोग हुन्छ, जसको वार्षिक खपत ७ लाख टन छ।
‘दाना बनाउन मकै, भटमासको पिना, राइस ब्रान भुटो, गोपी पिना, तिलको पिना र तोरीको पिनालगायतका उपउत्पादन (बाइप्रोडक्ट) प्रयोग हुन्छन्,’ उनले भने, ‘भटमासको पिना शतप्रतिशत विदेशबाट आयात गर्नुपर्छ। एक टन दाना उत्पादनका लागि करिब ६० प्रतिशत मकै र ४० प्रतिशत अन्य उपउत्पादन आवश्यक पर्छ।’
पुरीका अनुसार, नेपालमा दानाको खपत वार्षिक १२ लाख मेट्रिक टन भए पनि पछिल्लो चार–पाँच वर्षदेखि पोल्ट्री व्यवसायको वृद्धिदरमा कमी आएको छ। विगतमा वार्षिक १०–१५ प्रतिशतले बढ्ने गरेको पोल्ट्रीको वृद्धिदर हाल स्थिर रहेको बताए। यसको मुख्य कारण युवा जनशक्तिको विदेश पलायन हुनु र निर्माणलगायतका क्षेत्रमा कामको कमी हुने उनको तर्क छ।
पाँच वर्षमा ४१ हजार हेक्टर क्षेत्रफल घटेर ९ लाख १६ हजार हेक्टरमा मकै खेती सीमित छ। उत्पादन भने वृद्धि भएको छ। वर्ष २०७६/७७ मा २८ लाख ३५ हजार टन उत्पादन भएकोमा गत वर्ष २०८०/८१ मा ३१ लाख ९३ हजार टन मकै उत्पादन भएको छ।
पछिल्लो पाँच वर्षमा ३ देखि ५ लाख टन मकै आयात भएको भन्सार विभागको तथ्यांक छ। स्वदेशी उत्पादन र आयातीत मकै हेर्ने हो भने वार्षिक रुपमा ३५ लाख मकै नेपालमा खपत भएको देखिन्छ। तर, यो मकै कहाँ प्रयोग हुन्छ भन्ने प्रश्न उठेको छ।
नेपालमा घट्दो क्षेत्रफलमा मकै उत्पादन बढ्दो छ।
नेपालमा पाँच वर्षको उत्पादन हेर्ने हो भने क्षेत्रफल घट्दो र उत्पादन बढ्दो कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक छ। आर्थिक वर्ष २०७६/७७ मा ९ लाख ५७ हजार हेक्टर क्षेफलमा खेती भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक छ।
पाँच वर्षमा ४१ हजार हेक्टर क्षेत्रफल घटेर ९ लाख १६ हजार हेक्टरमा मकै खेती सीमित छ। उत्पादन भने वृद्धि भएको छ। वर्ष २०७६/७७ मा २८ लाख ३५ हजार टन उत्पादन भएकोमा गत वर्ष २०८०/८१ मा ३१ लाख ९३ हजार टन मकै उत्पादन भएको छ। यो भनेको पाँच वर्षको तुलनामा ३ लाख ५८ हजार टनले बढी हो।
नेपालमा पशुपन्छीको दानाका लागि करिब एक क्विन्टल दाना तयार पार्न ५० देखि ५५ किलो मकै प्रयोग हुने गरिन्छ। कृषिविज्ञ रामबहादुर केसीका अनुसार नेपालमा मकैको सबैभन्दा ठूलो खपत कुखुराको दाना बनाउनमा हुन्छ। ‘आयात गरिने मकैको ठूलो हिस्सा पनि यही प्रयोजनका लागि प्रयोग गरिन्छ,’ उनले भने, ‘अन्डाको पहेँलो भागको रङ राम्रो बनाउन पहेँलो मकै विशेष रूपमा प्रयोग हुन्छ, जबकि सेतो मकै खासै प्रयोग हुँदैन।’

मकै आयातका लागि ठूलो रकम बाहिरिने गरेको तथ्यांकले देखाउँछ। चालू आर्थिक वर्ष (जेठसम्म) ३ लाख ५१ हजार टन मकै आयात गर्दा १८ अर्ब ४१ करोड ३० लाख ४१ हजार रुपैयाँ बराबरको मुद्रा बाहिरिएको छ। यसबाट सरकारले १ अर्ब ७३ करोड ५२ लाख ११ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा बढी ५ लाख ७० हजार ८३३ टन मकै आयात गरिएको थियो, जसका लागि २० अर्ब ५६ करोड २५ लाख ९५ हजार रुपैयाँ खर्च भएको छ भने १ अर्ब १९ करोड ७९ लाख ३ हजार रुपैयाँ राजस्व संकलन भएको थियो।
पछिल्लो पाँच वर्षमा भन्सार विभागको तथ्यांकले १५ अर्बदेखि २० अर्ब रुपैयाँ बराबरको ३ लाखदेखि ६ लाख टनसम्म मकै आयात भएको छ।
नेपालमा पछिल्लो समय मकैको माग केही बढेको देखिन्छ। यसो हुनुमा पहाडी क्षेत्रमा उत्पादन भएको अधिकांश मकै खाद्यान्नका लागि प्रयोग भएको छ भने तराईमा उत्पादन हुने मकै ‘साइलेज’ घाँस, दाना र खानामा प्रयोग हुँदै आएको छ।

केही खानाकै लागि मकै आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ भने केही पशुपन्छीका लागि दाना, केही खाद्यान्न पिठो जस्ता मकैजन्य तयारी वस्तु आयात भएको भन्सार विभागको तथ्यांक छ।
यति मात्रै नभई मकै बिउ पनि आयात भएको विभागको तथ्यांकमा उल्लेख छ। समग्रमा वार्षिक ३ लाख टन मकै तथा मकैजन्य तयारी वस्तु आयात भइरहेको विभागको तथ्यांकले देखाउँछ।
नेपालमा मकै उत्पादनमा अग्रणी अन्न बालीका रूपमा चिनिन्छ। विशेषगरी पहाडी क्षेत्रमा यसको परम्परागत महत्व छ। मध्यपहाडी क्षेत्रमा कुनै समय मकै मुख्य खाना थियो। ‘खाए मकै, नखाए भोकै’ भन्ने उखानले पनि यसको महत्त्व दर्शाउने कृषिविज्ञ केसी बताउँछन्।
तर, सडक यातायातको पहुँचसँगै पहाडमा पनि भात खाने चलन बढेको छ, जसले मकै खपतमा कमी आएको छ। यद्यपि, केही स्थानमा भातसँग मकैको च्याख्ला वा भात मिसाएर खाने चलन अझै छ, विशेषगरी पूर्वी पहाडमा यो प्रचलन रहेको केसीको भनाइ छ। यसका लागि सेतो मकै बढी रुचाइन्छ।