महोत्तरी। मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रका पर्व कृषिमैत्री छन्। यहाँका धार्मिक, पारम्परिक र सांस्कृतिक पर्वका विधिमै कृषि उपजको महत्व जोडिएको छ।
पर्वमध्ये तिहार र छठमा त झन् थरिथरिका कृषि उपज पूजा सामग्रीमा प्रयोग हुन्छन्। यीमध्ये तिहारमा केरा फलमात्र नभएर कोथाहरू नै बिक्री हुने भएपछि यो खेतीका किसानलाई अतिरिक्त आर्जनको अवसर बन्दै आएको छ।
तिहार र छठ दुवै पर्वमा केरा फल अनिवार्य चढाइने सामग्रीमा पर्छ। खासगरी छठमा त केराका घरी नै सूर्यदेवलाई अघ्र्य (अर्घ) दिँदा देखाइने चलनले पर्वभरि यसको माग निकै हुन्छ। तिहारमा लक्ष्मीपूजाका दिन त व्यापारिक प्रतिष्ठानले लक्ष्मी प्रवेशद्वार बनाउन केराका थामको प्रयोग गर्छन्।
यो चलनले जिल्लाका मुख्य बजारमा केराका थामको बजार जम्दै आएको विगत छ। कतिपय ब्यापारीले केही दिन पहिले नै थामबापतको अग्रिम रकम दिएपछि यो नगदले आफ्नो पर्वका सामग्री खरिदमा सहयोग पुगेको केराखेतीका किसान बताउँछन्।
“मैले त थामबापत बैना रकम नै पाँच हजार लिइसकेको छु”, भङ्गाहा–४ थारूटोल बनराका किसान रामधारीसिंह थारुले भने। तिहारको यो अवसर आफूहरूका लागि खनेर फालिने कोथाबाट रकम प्राप्त हुने हुँदा यो बेला पर्खाइमा रहने गरेको उनले बताउँछन्।
केराखेती गर्दा एक झ्याङ्मा तीन वटाभन्दा बढी कोथा बढ्न दिन नहुने किसानको अनुभव छ। “एक झ्याङमा तीनभन्दा बढी कोथा भए घरी राम्रो लाग्दैन, कोसा राम्रा हुँदैनन्”, अर्का किसान रामसुनरदेवी राय भन्छन्, “यो त बढी भएका कोथा हामीले मजदुर लगाएर उखालेर फाल्नुपथ्र्यो, तर यो बेला कोथा बिक्री हुने भएर यो अवसर हाम्रो पर्खाइमा पर्छ।”
पर्वको यो अवसरले उखाल्न लाग्ने खर्चको बचतसँगै कोथा बिक्रीबाट प्राप्त हुने रकम पुरस्कारजस्तै हुने गरेको राय बताउँछन्। यसै मौकामा केराको गोडमेल हुने गरेको किसानको भनाइ छ।
यसैले यी पर्वलाई किसान केराको अमृत बेला भन्ने गर्छन्। पर्वका बेला केराका घरीले राम्रो दाम पाउने र उखालेर फाल्नुपर्ने कोथासमेत बिक्री हुनुले यो खास अवसर रहँदै आएको किसानको भनाइ छ।
वर्षभरिमा एउटा केराका झ्याङमा पाँच सात वटासम्म फाल्नुपर्ने कोथा निस्कने किसान बताउँछन्। यसबेला स्वागतद्वारका लागि व्यापारीले लग्ने कोथा जोडीको तीन सयसम्म पाइने गरेको किसानको भनाइ छ।
आफूले कोथा बेचेर नै तिहारमा पछिल्ला तीन वर्षयता सालाखाला १० हजार पाएको भङ्गाहा–६ सग्रामपुरका सुवालाल राय यादव बताउँछन्।
केराका थामको बजार लक्ष्मीपूजाको एक दिनअघिदेखि नै जम्ने गरेको छ। थामको स्वागतद्वार बनाउने चलन सहरबजार क्षेत्रमा भएको हुँदा जिल्लाका जलेश्वर, गौशाला, बर्दिबास, मटिहानी, रामगोपालपुर, मनरा र पिपरासहितका बजार क्षेत्रमा ठूलै मेला जम्छ।