काठमाडौं। नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। राष्ट्र बैंकको नेतृत्व लिएपछि गभर्नर डा.गभर्नर विश्वनाथ पौडेलको पहिलो मौद्रिक नीति सार्वजनिक गर्न लागेका हुन्।
मौद्रिक नीतिलाई अन्तिम स्वीकृति दिन यतिखेर राष्ट्र बैंक सञ्चालक समितिको बैठक बसिरहेको छ। सञ्चालक समिति बैठकबाट स्वीकृत भएपछि सम्भवतः दिउँसो मौद्रिक नीति सार्वजनिक हुनेछ।
गभर्नर पौडेलले कर्जा माग बढ्ने तथा अर्थतन्त्र चलायमान हुने गरी मौद्रिक नीति तयार गरेको बुझिएको छ। आगामी आर्थिक वर्षको बजेट मार्फत नै घोषणा भएका कर्जा पुनर्तालिकीकरण, खराब कर्जा व्यवस्थापनका लागि एसेट म्यानेजमेन्ट कम्पनी तथा डिजिटल बैंकलाई मौद्रिक नीतिले विशेष ख्याल राख्ने बताइन्छ।
बिहीबार पनि राष्ट्र बैंक सञ्चालक समितिमा मौद्रिक नीतिबारे सञ्चालक समितिमा समेत छलफल भएको थियो। बिहीबार दिनभर राष्ट्र बैंकमा व्यवस्थापन समिति र विभागीय प्रमुखबीच छलफल चलेको थियो। बिहीबार बिहानै व्यवस्थापन समितिमा छलफल गरेका गभर्नर डा. विश्वनाथ पौडेलले साँझ ५ बजे सञ्चालक समितिको बैठक बोलाएका थिए। बिहीबार साँझ बसेको बोर्ड बैठकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा गर्दै पारित गरेको छ।
मौद्रिक नीतिकै विषयलाई लिएर गभर्नर पौडलले बिहीबार अपराह्न ४ बजे अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरेका छ्न्। अर्थमन्त्रीलाई आवश्यक ब्रिफिङ गरेर गभर्नर बिहीबारको बोर्ड बैठकमा पुगेका थिए ।
बुधबार साँझ पनि राष्ट्र बैंकको बोर्ड बैठक बसेको थियो । उक्त बैठकले राष्ट्र बैंकले गर्ने अन्य एजेन्डा पारित गरेको बुझिएको छ। गभर्नर पौडेलले आर्थिक वर्ष नसकिँदै आगामी आवको माद्रिक नीति ल्याउन जोड दिएकै कारण आज सार्वजनिक हुन लागेको राष्ट्र बैंक स्रोत बताउँछ।
बजेट साउन १ देखि कार्यान्वयनमा आउने भएकाले मौद्रिक नीति पनि साउन १ देखि नै कार्यान्वयनमा लैजाने तयारी गर्न गभर्नर पौडेलले निर्देशन दिएका थिए।
आगामी आर्थिक वर्षको बजेट, पूर्वअर्थसचिव रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग र बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलको प्रारम्भिक प्रतिवेदनका बुँदा समेटेर मौद्रिक नीति सार्वजनिक गर्ने तयारी छ।