काठमाडौं। एकपटक बन्द भएको एयरलाइन्सलाई पुनः सञ्चालनका लागि आवश्यक प्रक्रिया पूरा गर्न धौधौ भइरहेको छ। पटक–पटक सञ्चालनको मिति घोषणा गरे पनि सौर्य र गुण एयरलाइन्सले हालसम्म नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान अनुमति (एओसी) निलम्बन फुकुवा गरिदिएको छैन।
२०८१ साउनमा भएको जहाज दुर्घटनापछि रोकिएको उडान हालसम्म सञ्चालनमा आउन सकेको छैन। सौर्यले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट इजाजत पत्र नवीकरण गरे पनि प्राधिकरणबाट भने उडान अनुमति (एओसी) नवीकरण हुन सकेको छैन।
यस्तै, २०७९ फागुनमा बन्द भएको गुण एयरलाइन्सले नियमित उडानमा फर्किन पटक–पटक प्रयास गर्दा पनि अहिलेसम्म सफल हुन सकेको छैन। मन्त्रालयबाट इजाजत नवीकरण भए पनि प्राधिकरणले एओसी नवीकरण गरेको छैन।
योसँगै अन्तर्राष्ट्रिय उडानका लागि तयारी थालेको बिबी एयरवेजले पनि जहाज ल्याउन नसकेकाले उडान अनुमति पाउन सकिरहेको छैन।
जहाजको समस्या देखाउँदै प्राधिकरण
प्राधिकरणका एक उच्च अधिकारीले सौर्य र गुणको उडान अनुमति नवीकरण नहुनुमा मुख्य कारण जहाज भएको बताउँछन्। सौर्यसँग एउटा मात्र जहाज रहेको र गुणसँग भएको जहाज पुरानो भएको कारण नयाँ जहाज ल्याएर मात्र उडान अनुमति दिने पक्षमा प्राधिकरण रहेको जनाएको छ।
गुणसँग रहेको पाँच वटा जेट स्ट्रीम जहाज विश्वमै दुर्लभ भइसकेको र धेरै खर्चालु हुने भएकाले सञ्चालनपछि पुनः पहिलेकै जस्तो आर्थिक संकट नपरोस भन्ने सोचका साथ नयाँ जहाज ल्याएर सञ्चालन गरे हुन्थ्यो भन्ने पक्षमा प्राधिकरण रहेको श्रोतको दाबी छ।
२०७९ मा उडान बन्द हुनुको प्रमुख कारक आर्थिक संकट भएको कारणले पुनः त्यही खालको गल्ती नहोस् भन्ने प्राधिकरणको धारणा रहको जनाएको छ। गुण एयरलाइन्सका अकाउन्टेबल म्यानेजर योगराज कँडेलले भने आवश्यक प्रक्रिया पूरा गरेर प्राधिकरणमा एओसीका लागि प्रक्रिया अगाडि बढाएको जानकारी दिए। ‘प्राधिकरणले भनेको जति सबै प्रक्रिया पूरा गरिसकेका छौँ,’ अकाउन्टेबल म्यानेजर कडेलले भने, ‘एओसी नवीकरण हुने वित्तिकै उडानमा फर्किने छौँ।’
सौर्य एयरलाइन्सका बजार व्यवस्थापक मुकेश खनालले पनि प्राधिकरणले भनेको सबै प्रक्रिया पूरा गरिसकेको जानकारी दिए। ‘हामी प्राधिकरणबाट एओसी निलम्बन फुकुवा हुने वित्तिकै नियमित उडानमा फर्किने छौँ,’ बजार व्यवस्थापक खनालले भने, ‘प्राधिकरणको प्रक्रियाअनुसार सबै तयारी पूरा गरेका छौँ।’