चितवन। गाईभैंसीमा बाँझोपना (बाली नजाने) समस्या बढ्दै गएको छ। चार जिल्लामा गरिएको अध्ययनले यस्तो समस्या भएको पुष्टि गरेको हो।
गण्डकी प्रदेशको स्याङ्जा, लमजुङ, गोरखा र नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा गरिएको अध्ययनले ३६ दशमलव ८८ प्रतिशत रहेको देखाएको हो। अध्ययनमा सहभागी पशु चिकित्सक डा. रविन वस्ताकोटीका अनुसार ३८ भैंसी र १२२ गाईमा गरिएको अध्ययनले पशुमा बाँझोपनाको समस्या अत्यधिक रहने गरेको छ।
पशुमा संक्रामक रोगका कारणले बाँझोपना आउने गर्दछ। यसले बच्चा तुहिने, गर्भ नअडिने, बाली नखोज्नेजस्ता समस्या देखापर्ने बस्यालले बताए। उनले भने, ‘यस्ता समस्या भएका पशु पाल्ने परिवार र त्यसको उपचारमा संलग्न पशु चिकित्सकलाई समेत जोखिम हुन सक्छ। प्रजननमा विकृति देखिन सक्छ।’
अध्ययनका क्रममा पशुको पाठेघरको सामान्य संक्रमण २८ दशमलव १२ प्रतिशत, पठेघर सुनिने समस्या १० प्रतिशत, पटक–पटक बाली खोजिरहने समस्या १० दशमलव ६३ प्रतिशतमा देखिएको छ।
बस्ताकोटीका अनुसार पाठेघरको मुख सुनिने समस्या सात दशमलव ५० प्रतिशत, डिम्बमा पानीको फोका बन्ने तीन दशमलव ७५ प्रतिशत र पाठेघरमा पानी जम्ने समस्या तीन दशमलव १२ प्रतिशत भेटिएको छ।
उन्नत जातमध्ये होलस्टेन जातको गाईमा सन्तुलित आहाराको कमीका कारण सामान्यभन्दा बढी दुब्लो देखिने गर्दा थारोपन निम्तिएको उनको भनाइ छ। सोही कारण गाईमा अण्डासयको सामान्यतया चल्ने ऋतुचक्र निस्क्रिय भएको भेटिएको छ।
सामान्यतया ऋतुचक्र २१ दिन चल्ने भन्दै उनले गाई ब्याएको एक सय दिनमा बाली जानुपर्नेमा अहिले एक सय २५ दिनमा पनि ऋतुचक्रमा नआएको देखिएको उनले बताए। केही गाई एकपटक व्याएपछि पाँच वर्षसम्म पनि गर्भाधारण नगरेको पाइएको उनले जानकारी दिए।
उन्नत नश्लका कोरली बाछी १८ महिनामा पहिलोपटक ऋतुकालमा आउनुपर्नेमा २६ महिनासम्ममा पनि नआएको पाइएको छ। उनले भने, ‘अधिकांश गाई, भैंसी ब्याएको २१ महिनासम्म पनि ऋतुचक्रमा प्रवेश नगरेको पाइएको छ।’
शरीरमा रगतको मात्रा कम हुने, रगतमा हेमोग्लोबिनको कमी, शारीरिक अवस्था दुब्लो, जुकाको संक्रमणलगायत कारण पनि पशु चौपायामा बाँझोपना देखिने बस्ताकोटीले बताए। उन्नत जातको गाईभैंसीपालन गर्दा आहारमा ध्यान पुर्याउन आवश्यक रहेको उनको धारणा छ।
आहारमा हरियो घाँस, कोशे जातका घाँस दिनु आवश्यक रहेको भन्दै उनले संक्रामक रोगको निदानका लागि पालिका र पशु सेवा कार्यालयले ध्यान दिनुपर्ने बताए। खनिजको कमीलाई आपूर्ति गर्न खनिज परिपूरक खाद्य सामग्री पशुलाई दिनुपर्ने हुन्छ।–रासस