काठमाडौं। यस वर्षको 'ऊर्जा ज्योति सम्मान, २०८२' बाट वरिष्ठ ऊर्जाविज्ञ प्रबल अधिकारी सम्मानित भएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले ऊर्जा क्षेत्रको विकास र विस्तारमा उल्लेख्य योगदान पुर्याउने एक जनालाई हरेक वर्ष ऊर्जा ज्योति सम्मानबाट सम्मानित गर्दै आएकोमा यस वर्षको सम्मान अधिकारीले पाएका हुन्।
मंगलबार इप्पानको २३औं वार्षिक साधारणसभाको अवसरमा पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ऊर्जामन्त्री दिपक खड्का, वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही, इप्पान अध्यक्ष गणेश कार्की र ऊर्जा ज्योति सम्मानका संस्थापक इप्पानका पूर्वअध्यक्ष शैलेन्द्र गुरागाईंलगायतका अतिथिहरु माझ अधिकारीलाई नगद १ लाख रुपैयाँको चेक र सम्मानपत्रसहित सम्मानित गरेका हुन्।
इप्पानका पूर्वअध्यक्ष गुरागाईंले उनकी स्व. छोरी श्रीनिका गुरागाईंको स्मृतिमा विंस २०७६ सालमा 'ऊर्जा ज्योति सम्मान' स्थापना गरेका थिए।
कुनै सार्वजनिक पद धारण गरेर वा नगरेर ऊर्जा क्षेत्रको विकास र विस्तारमा उल्लेख्य योगदान पुर्याउने मध्येबाट इप्पान कार्यसमितिले छनोट गरेको एक जनालाई इप्पानको साधारणसभाको अवसर पारेर हरेक वर्ष यो सम्मान प्रदान गरिँदै आएको छ।
नेपाल विद्युत प्राधिकरणमा ३ दशक सेवा गरी उपकार्यकारी निर्देशकबाट सेवानिवृत्त भएका ऊर्जाविज्ञ अधिकारीले ऊर्जा मन्त्रालयमा वरिष्ठ ऊर्जाविज्ञको रुपमा करिब १ वर्ष काम गरेका थिए। विद्युत प्राधिकरणको विद्युत व्यापार विभागमा लामो समय काम गरेका उनले विद्युत व्यापारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञता हासिल गरेका छन्। सार्वजनिक पदमा नरहँदा पनि निजी क्षेत्रलाई संकुचित बनाउने गरि चालिएका विभिन्न सरकारी कदमको तर्क र तथ्यसंगत खण्डन गर्दै ऊर्जा विकासमैत्री वातावरणकालागि निरन्तर खबरदारी गरिरहने व्यक्तिकोरुपमा अधिकारी निजी क्षेत्रमाझ परिचित छन्।
सम्मान ग्रहण गर्दै ऊर्जा विज्ञ अधिकारीले नेपालको ऊर्जा विकासमा छोटोे समयमै अभूतपूर्व नतिजा दिएको निजी क्षेत्रको छाता संस्था इप्पानले गरेको सम्मानबाट ऊर्जा क्षेत्रमा थप क्रियसिल रहन उत्प्रेरित गरेको बताए।
"पूर्वप्रधानमन्त्री देउवाको हातबाट नगद एक लाख रुपैयाँ सहितको "इप्पान उर्जा ज्योती सम्मान २०८२" ग्रहण गर्दै गर्दा बिद्युत क्षेत्रको विकास र प्रबर्धनमा थप उत्साहित भइ समर्पित भैरहने प्रेरणाका साथ गौरवान्वित महसुस गरेको छु," अधिकारीले भने।
उनले सरकार र निजी क्षेत्रको सहकार्यबाटै उर्जा विकास मार्फत देशको सामाजिक/आर्थिक रुपान्तरणसहितको समृद्धि हासिल हुने बिश्वास व्यक्त गर्दै यस अभियानमा सबै सरोकारवालाहरुको साथ, समर्थन र योगदान महत्वपूर्ण रहने पनि बताए।
"खासमा जलबिद्युत उत्पादनमा निजी क्षेत्रको योगदान अत्यन्त उँचा रहेकाले मैले प्राप्त गरेको आजको यो सम्मान नेपालको समग्र निजी क्षेत्रलाई 'डेडिकेट' गर्न चाहन्छु," अधिकारीले भने।