काठमाडौं। ब्रिटिश पृष्ठभूमिमा स्थापित प्रिमियम एयरलाइन कम्पनी हिमालय जेटले गाेरखा कप र नेपाली मेलालाई १० वर्षे प्रायोजन गरेकाे छ। नेपाली डायस्पोराका दुई प्रमुख वार्षिक कार्यक्रमलाई तमु धिं यूके र बेलायतस्थित नेपाली दूतावासको सहकार्यमा आयोजना गरिँदै आएको छ।
कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको यो दीर्घकालीन प्रायोजनले विदेशमा रहेका नेपाली समुदायका विभिन्न परोपकारी संस्थाहरूलाई समेत सहयोग गर्नेछ। घोषणालाई परम्परागत पाइपर समारोहद्वारा चिह्नित गरियो, जहाँ तमु धिं यूकेका ट्रस्टी, सल्लाहकार तथा कार्यकारी सदस्यहरूले हिमालय जेटको प्रतिनिधिमण्डललाई स्वागत गरे।
तमु धिं यूकेका अध्यक्ष जुमकाजी गुरुङले यस प्रायोजनलाई “नेपाल र नेपाली जनताको इतिहासमै गेम चेन्जिङ प्रोजेक्ट” भन्दै आभार व्यक्त गरे। समारोहको दौरान हिमालय जेटका अध्यक्ष तथा मालिक दीपेन्द्र गुरुङ को सम्मानमा च्याम्पेन टोस्ट गरिएको थियो। यसअघि बेलायतका राजा चार्ल्स तृतीय र नेपालका राष्ट्रपतिको नाममा टोस्ट गरिएको थियो। नेपाली कलाकारहरूको सांस्कृतिक प्रस्तुतिले समारोह झनै उल्लासपूर्ण बनायो।
कार्यक्रम संयोजक कमल गुरुङले भने, “हाम्रो २५ वर्षको इतिहासमा पहिलोपटक यस्तो उच्चस्तरको प्रमुख अतिथिलाई सम्मान गर्न पाएका छौं। यो हाम्रो गौरवको विषय हो।”

यसै अवसरमा डचेस निविनले गुरुङको देशभक्तिपूर्ण दृष्टिकोणको प्रशंसा गर्दै हिमालय जेटका आगामी कार्यक्रमहरूको जानकारी दिइन्। त्यस्तै, गुरुङ फ्यामिली अफिसका कार्यकारी इयान जर्जले गुरुङ परिवारको पाँच वर्षदेखिको सहकार्य अनुभव सुनाउँदै, एयरलाइनसँगै विमानस्थल पूर्वाधार, लगानी र ड्युटी-फ्री लक्जरी रिटेल विस्तारबारे जानकारी दिए।
समापन मन्तव्यमा दीपेन्द्र गुरुङले तमु धिं यूकेका कार्यकारी टिम, पूर्वअध्यक्षहरू, एनआरएन एसोसिएसनका पदाधिकारी, बेलायतस्थित नेपाली मूलका काउन्सिलर, पर्यटन प्रवर्द्धक, गोरखाली तथा समुदाय नेताहरूप्रति आभार प्रकट गरे।
विभिन्न देशबाट नेपाल उडान सुरु हुँदै
हिमालय जेटले सिड्नी र पर्थ (अष्ट्रेलिया) बाट नेपालका लागि र पेरिस (फ्रान्स), फ्रान्कफर्ट (जर्मनी), म्याड्रिड (स्पेन), लिस्बन (पोर्चुगल) र लन्डन (यूके) जस्ता युरोपेली सहरहरूबाट प्रत्यक्ष उडान सुरु गर्ने तयारी पूरा गरेको छ।
२०२५ को शरद ऋतुबाट सुरू हुने यी उडानहरू लामो तयारी, अन्तर्राष्ट्रिय नियमन पालना र बहु-देशीय सरकारी लबिइङको परिणाम हुन्। कम्पनीले २०२७/२८ सम्म लस भेगास, माकाउ र मोन्टे कार्लो (फ्रेन्च रिभिएरा) जस्ता प्रमुख क्यासिनो गन्तव्यहरूलाई पनि आपसमा जोड्ने ‘लक्जरी एयर कनेक्ट’ परियोजनाको तयारी गरिरहेको छ।
यी मार्गहरूमा अत्याधुनिक फर्स्ट र बिजनेस क्लास क्याबिन रहनेछ जसले उच्च श्रेणीका पर्यटक तथा क्यासिनो यात्रीहरूलाई लक्षित गर्नेछ। निकट भविष्यमै लन्डनमा आयोजना हुने पहिलो औपचारिक प्रेस सम्मेलनमार्फत हिमालय जेटले मार्ग विस्तार, सेवासुविधा र अन्य योजनाबारे विस्तृत जानकारी सार्वजनिक गर्ने जनाएको छ।
