काठमाडौं। चालू आर्थिक वर्षको चार महिनाको अवधिमा ६ हजार ४३२ युनिट सवारी साधन नेपाल भित्रिएका छन्। चालू आर्थिक वर्ष २०८२/८३ को साउनदेखि कात्तिकसम्ममा ईभी र इन्धन गरी ६ हजार ४३२ युनिट सवारी साधन भित्रिएका हुन्। गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा भने ६ हजार २७ युनिट सवारीसाधन भित्रिएको थियो।
चार महिनाको अवधिमा दुई पांग्रे इन्धन र ईभी दुवैतर्फको आयात बढ्दा चार पांग्रे ईभीको आयात घटेको छ। चार महिनाको अवधि साउनदेखि कात्तिकसम्ममा ३ हजार २०३ युनिट विद्युतीय सवारी साधन (ईभी) आयात भएको छ। गत आर्थिक वर्षको तुलनामा यस वर्ष २८४ युनिट कम ईभी भित्रिएको हो। यस वर्ष गत आर्थिक वर्षको तुलनामा ८.१४ प्रतिशतले ईभीको आयात घटेको हो।
चालू आर्थिक वर्षको चार महिनाको अवधिमा ७ अर्ब ५४ करोड ८२ लाख रुपैयाँ बराबरको ३ हजार २०३ युनिट ईभी नेपाल भित्रिएको छ। उक्त आयातबाट सरकारले ४ अर्ब ६८ करोड ८९ लाख रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ।
चालू आर्थिक वर्षको चार महिनाको अवधिमा इन्धन र ईभी गरी एक लाख ६ हजार ६९० युनिट दुई पांग्रे सवारी साधन आयात भएका छन्।
गत आर्थिक वर्षको सोही अवधिमा ८ अर्ब ३७ करोड ९ लाख रुपैयाँ बराबरको ३ हजार ४८७ युनिट आयात भएको थियो। उक्त आयातबाट सरकारले ५ अर्ब १९ करोड २० लाख रुपैयाँ बराबरको राजस्व संकलन गरेको थियो।
दुई पांग्रेको आयात बढ्यो
गत आर्थिक वर्षको तुलनामा यस वर्ष इन्धन र ईभी दुवै सेग्मेन्टका दुई पांग्रे सारी साधनको आयात बढेको छ। गत वर्षको तुलनामा यस वर्ष २५.७ प्रतिशतले बाइक तथा स्कुटरको आयात बढेको हो।
चालू आर्थिक वर्षको चार महिनाको अवधिमा इन्धन र ईभी गरी एक लाख ६ हजार ६९० युनिट दुई पांग्रे सवारी साधन आयात भएका छन्। गत आर्थिक वर्षको सोही अवधिमा इन्धन र ईभी दुवै गरी ८४ हजार ८९० युनिट बाइक तथा स्कुटर नेपाल भित्रिएको थियो।
चालू आर्थिक वर्षको चार महिनाको अवधिमा इन्धनतर्फ मात्र एक लाख ६१७ युनिट बाइक तथा स्कुटर भित्रिएका छन्। साउनदेखि कात्तिकसम्मको अवधिमा १२ अर्ब ६४ करोड ८३ लाख रुपैयाँ बराबरको इन्धन बाइक तथा स्कुटर भित्रिएको हो। उक्त आयातबाट सरकारले १२ अर्ब ४७ करोड ८५ लाख रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ।
चालू आर्थिक वर्षको यस अवधिमा ईभीतर्फ ५८ करोड ८० लाख रुपैयाँ बराबरको ६ हजार ७३ युनिट ईभी बाइक तथा स्कुटर आयात भएको छ। उक्त आयातबाट सरकारले २० करोड ५७ लाख रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ।
गत आर्थिक वर्ष २०८१/८२ को चार महिनाको अवधिमा इन्धनतर्फ ९ अर्ब ७५ करोड १८ लाख रुपैयाँ बराबरको ८१ हजार ८४९ युनिट बाइक तथा स्कुटर आयात भएको थियो। उक्त आयातबाट सरकारले १० अर्ब ९ करोड ३ लाख रुपैयाँ बराबरको राजस्व संकलन गरेको थियो।
यसै अवधिमा ईभीतर्फ ३४ करोड ४४ लाख रुपैयाँ बराबरको ३ हजार ४१ युनिट ईभी बाइक तथा स्कुटर आयात भएको थियो। उक्त आयातबाट सरकारले ११ करोड ४५ लाख १८ हजार रुपैयाँ बराबरको राजस्व संकलन गरेको थियो।