काठमाडौं। नेपालमा उद्यमशीलता र व्यवसाय शिक्षामा अग्रणी संस्थामध्ये एक किङ्स कलेजले साउन ११ र १२ गते नेपाल आन्टरप्रेनरशिप फोरमको आयोजना गर्ने घोषणा गरेको छ।
“टुवर्डस् सस्टेनेवल आन्टरप्रिनरशिप इकोसिस्टम” भन्ने मूल नाराका साथ आयोजना हुने यो अन्तर्राष्ट्रिय सम्मेलनको दोस्रो संस्करणमा नेपाल, फिनल्याण्ड, जापान, भारत, बङ्गलादेश र कोसोभोलगायतका देशका २५ भन्दा बढी वक्ता र विशेषज्ञहरू सहभागी हुने छन्।
दुई दिने यो कार्यक्रमले दिगो उद्यमशीलता क्षेत्रमा कार्यरत शिक्षाविद्, उद्यमी, नीतिनिर्माता, पेशाकर्मी, तथा सरोकारवालाहरूलाई एउटै मञ्चमा ल्याउने लक्ष्य लिएको छ। सम्मेलनले शैक्षिक ज्ञान र व्यावहारिक अनुभवलाई जोड्दै, उद्यमशीलताको विविध पक्षमा गहन संवाद एवं छलफललाई प्रवर्द्धन गर्न सहकार्यको अवसर प्रदान गर्ने जनाइएको छ।

“उद्यमशीलतासम्बन्धी यस्ता सम्मेलनहरुले नेपालमा पनि नवप्रवर्तनलाई प्रोत्साहन गर्न, महत्वपूर्ण सञ्जालहरूको निर्माण गर्न, आर्थिक वृद्धिमा टेवा दिन, बेरोजगारी न्यूनीकरण गर्न, दिगो विकासलाई प्रबद्र्धन गर्न र विकासशील राष्ट्रका युवाहरुलाई उनीहरुले सामना गरिरहेका चुनौतीहरूसँग जुझ्न सहयोग पुर्याउँछ,” कार्यक्रम संयोजक तथा किङ्स कलेजका प्राध्यापक चित्तरञ्जन पाण्डेले भने।
किङ्स कलेजका अनुसार सम्मेलनका सत्रहरूमा शैक्षिक अनुसन्धान र व्यावसायिक कार्यान्वयनबीचको सम्बन्ध उजागर गर्ने गरी विचार विमर्श, शोधपत्र प्रस्तुतिकरण, नवप्रबर्तन प्रदर्शन, तथा सञ्जाल निर्माण जस्ता विधाहरू समावेश गरिने छन्।
यस कार्यक्रममा २०० भन्दा बढी सहभागी हुने छन्। जसमा अन्तर्राष्ट्रिय तथा स्थानीय उद्यमी, अनुसन्धानकर्ता, नीतिनिर्माता, विकास साझेदार, सरकारी प्रतिनिधि र विद्यार्थीहरू सम्मिलित हुने छन्।