काठमाडौं। मोरङ उद्योग व्यापार संघको टोलीले विराटनगर पुगेका पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेस नेता बालकृष्ण खाँणलाई भेटघाट गरी उद्योगी व्यवसायीका समस्याबारे अवगत गराउँदै ज्ञापन पत्र बुझाएका छन्।
संघका निवर्तमान अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजाल, पूर्वअध्यक्ष पवन कुमार सारडा, वरिष्ठ उपाध्यक्ष अनिल कुमार साहलगायतको नेतृत्वमा गएको संघको टोलीले खाँणलाई आगामी आर्थिक वर्ष २०८२/८३का लागि सरकारले ल्याएको आर्थिक नीति र मौद्रिक नीति विगतभन्दा अझै उद्योग व्यवसाय मैत्री रहेको बताएका थिए।
साथै, केही वस्तुका करका दरमा गरिएका हेरफेरबाट नकारात्मक प्रभाव पर्न गएका उद्योग व्यवसायसहित उद्योग व्यवसाय क्षेत्रका केही विद्यमान आवश्यकता समेटी संघद्वारा तयार पारिएको ज्ञापन पत्र बुझाइएको थियो।
ज्ञापन पत्र बुझाउने क्रममा संघका निवर्तमान अध्यक्ष रिजालले नेपालको अत्याधिक बिमा प्रिमियम दर न्यूनीकरण गर्नुपर्ने तथा बिमाका अन्यायिक नीति खारेज गर्नुपर्ने, कवाडीजन्य फलामको धुलो र टुक्रा सिसाको निकासीमा लगाइएको भन्सार महसुल खारेज गर्नुपर्ने विषयमा जानकारी गराएका थिए।
त्यसैगरी, संघका पूर्वअध्यक्ष सारडाले वायर रड उत्पादक उद्योगको कच्चा पदार्थ, एम.एस. वायर रडको भन्सार महसुलमा गरिएको वृद्धि र अतिआवश्यकीय सुतिका लत्ता कपडाको आयातमा लाग्दै आएको कर खारेज गर्नुपर्ने बताए।
सोही क्रममा संघका वरिष्ठ उपाध्यक्ष साहले सुन तथा सुनका गरगहनाको बिक्री मूल्यमा लगाइएको २ प्रतिशत विलासिता शुल्क तथा बहुमूल्य पत्थर जडित गहनामा लगाइएको १३ प्रतिशत करको व्यवस्था खारेज गर्नुपर्ने विषय वस्तु अवगत गराउँदै सरकारबाट ती विषयमा सुधारात्मक कदम चाल्न आफ्नो स्तरबाट आवश्यक पहल गरिदिन पूर्व गृहमन्त्रीलाई आग्रह गरे।
टोलीमा संघका वाणिज्य उपाध्यक्ष अनिल सारडा, महासचिव संजय कुमार श्रेष्ठसहित संघका कार्य समिति सदस्य, आमन्त्रित सदस्य, महिला उद्यम समिति सदस्यसमेतको उपस्थिति रहेको थियो।