काठमाडौं। बिहीबारदेखि नयाँ आर्थिक वर्ष २०८२/८३ सुरु हुँदै छ। नयाँ आर्थिक वर्ष सुरु हुने भएसँगै विभिन्न वस्तु तथा सेवामा लाग्ने नयाँ कर कार्यान्वयन हुनेछ।
सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत लागू गरेका नयाँ करदेखि फिर्ता गरिएका करका दरहरुसमेत बुधबार राति १२ बजेपछिदेखि लागू हुने भएको हो।
सरकारले बजेटमार्फत पहिलो पटक सुन र सुनका गरगहनामा विलासिता शुल्क लगाएको छ। अब सुन र सुनका गरगहनाको बिक्री मूल्यमा २ प्रतिशत विलासिता शुल्क लाग्ने छ। यो भनेको उपभोक्ताले सुन खरिद गर्दा २ प्रतिशत अतिरिक्त शुल्क तिर्नुपर्छ। यसअघि १० लाखभन्दा बढी मूल्यका सुनका गरगहना वा हिरा, मोती पत्थर जडित सुनको गहनामा मात्रै यो शुल्क लाग्दै आएको थियो।
खारेज तथा छुट
डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न डिजिटल भुक्तानीमा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गरिएको छ। यो कर खारेज भएपछि उपभोक्तामाथिको भार कम हुनेछ।
चिनीको आयात महसुल ३० बाट १५ प्रतिशतमा आधा घटाएको छ। यसले कोल्ड ड्रिङ्स, बिस्कुट, इनर्जी ड्रिङ्स, कन्फेक्सनरी, जुसलगायतका उद्योगलाई राहत पुग्ने छ।
यस्तै, खाद्यान्न, गेडागुडी, फलफूललगायत वनस्पतिजन्य, पशुजन्य तथा दुधजन्य पदार्थमा भन्सार विन्दुमा लाग्दै आएको अग्रिम आयकर खारेज गरिएको छ। सूचना प्रविधिमा आधारित उद्योग र होटल तथा रिसोर्टलाई विशेष उद्योग सरह आयकर र विद्युत महसुल छुट दिइएको छ।
ग्रिन हाइड्रोजन उत्पादन गर्ने उद्योगको लागि पैठारी हुने मेसिनरी उपकरणमा सबै किसिमका कर महसुल नलाग्ने र ग्रिन हाइड्रोजन उत्पादकलाई ६ वर्षसम्म आयकर छुट दिने व्यवस्था गरिएको छ।
सूचना प्रविधि सेवा निर्यातबाट प्राप्त हुने आयमा लाग्ने करमा ७५ प्रतिशत छुट हुनेछ। नेपालमा बसी विदेशमा सूचना प्रविधि सेवा निर्यात गर्ने व्यक्तिको आम्दानीमा ५ प्रतिशत मात्र आयकर लाग्ने र यो कर अन्तिम हुने व्यवस्था गरिएको छ। साथै, दश करोडसम्मको वार्षिक कारोबार गर्ने स्टार्टअप व्यवसायलाई ५ वर्षसम्म आयकर नलाग्ने व्यवस्था बजेटले गरेको छ।
प्राङ्गारिक र प्राकृतिक मल उत्पादन मिल मेसिनरी तथा उपकरण पैठारी गर्दा भन्सार महसुल हटाई अन्य कर तथा महसुल खारेज गरिएको छ। फुटबल, क्रिकेट तथा बहुउद्देश्यीय रंगशालाको पूर्वाधार निर्माणका लागि आवश्यक पर्ने यन्त्र, उपकरण तथा खेल सामग्रीको पैठारीमा १ प्रतिशत भन्सार महसुल लगाई अन्य कर तथा महसुल खारेज गरिएको छ।
ग्रिन हाइड्रोजन उत्पादन गर्ने उद्योगको लागि पैठारी हुने मेसिनरी उपकरणमा सबै किसिमका कर महसुल नलाग्ने र ग्रिन हाइड्रोजन उत्पादकलाई ६ वर्षसम्म आयकर छुट दिने व्यवस्था गरिएको छ।
सौर्य तथा वायु ऊर्जाबाट विद्युत सञ्चय गर्न आवश्यक पर्ने ब्याट्री तथा अन्य यन्त्र उपकरणको पैठारीमा १ प्रतिशत भन्सार महसुल लिई अन्य कर महसुल नलाग्ने व्यवस्था आर्थिक ऐनमा गरिएको छ।
राजस्व छुट सुविधामा पैठारी गर्न पाउने बिरामी बोक्ने एम्बुलेन्समा विद्यमान १६ लाख रुपैयाँको मूल्य सीमा हटाइएको छ।
सडक, सिँचाइ र जलविद्युत आयोजनामा सुरुङ प्रविधिको प्रयोग प्रवर्द्धन गर्न निजी क्षेत्रले टनेल बोरिङ्ग मेसिन पैठारी गर्दा १ प्रतिशत भन्सार महसुल लिई बाँकी कर तथा महसुल छुट दिने व्यवस्था गरिएको छ।
हवाई वा स्थलमार्गबाट नेपाल प्रवेश गर्ने यात्रुले नेपालमा विनिमय हुने पाँच हजार अमेरिकी डलर बराबरको विदेशी मुद्रा वा ट्राभलर्स चेक साथमा ल्याउन पाउने र सोभन्दा बढी भन्सार विन्दुमा घोषणा गरी ल्याउन सक्ने व्यवस्थालाई सहजीकरण गरिने छ।
राजस्व छुट सुविधामा पैठारी गर्न पाउने बिरामी बोक्ने एम्बुलेन्समा विद्यमान १६ लाख रुपैयाँको मूल्य सीमा हटाइएको छ। काठ तथा काठजन्य सामग्रीको गुणस्तरीय उत्पादन तथा उपभोग बढाउन काठ सिजनिङ गर्ने उद्योगलाई आवश्यक पर्ने मिल मेसिनरी पैठारी गर्दा १ प्रतिशत मात्र भन्सार महसुल लगाई अन्य कर तथा महसुल खारेज गरेको छ।