काठमाडौं।सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) संक्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदै छ।
सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ। साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ।
माघ १ मा सुुरु हुने उत्तरायण र साउन १ मा सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ। अधिकांश नेपाली असारभर कृषि कर्ममा व्यस्त हुन्छन्। त्यस क्रममा हिलोमैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराई बताउँछन्।
एक महिना काम गर्ने किसान साउन १ मा आफन्तका साथ जम्मा भई रमाइलो गर्ने गर्छन्। परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधीका रूपमा समेत प्रयोग हुने वनस्पति राखेर ‘कण्डारक’ नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ।
लुतो फाल्दा आ–आफ्नो कुल परम्पराअनुसार नाङ्लो ठटाउने, शंक फुक्ने, घन्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ।
साउनलाई विशेष रूपमा भगवान् शिवको पूजा गरेर मनाउने महिनाका रूपमा पनि लिइन्छ। महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गर्छन्।
साउनमा विशेषगरी हरियो कपडा, चुरा बढी बिक्री हुने गरेको छ। यो महिनामा धेरै महिलाले हरियो र रातो पहिरन लगाउने गर्छन्।