काठमाडौं। जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले साउन १ मा २७ जिल्लालाई सम्भावित बाढीको एल्लो अलर्ट अर्थात् पहेंलो रङको सूचकभित्र पारेको छ।
बाढी महाशाखाका अनुसार आज बिहान बाढी मापन गर्दा कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीको बहाव सतर्कता तहभन्दा तलै भए पनि बढ्ने सम्भावना छ।
आज रसुवा, धादिङ, नुवाकोट, सुर्खेत, दैलेख, अछाम, कैलाली, डोटी, डडेलधुरा, बैतडी, दार्चुला, गोरखा, कास्की, लमजुङ, इलाम, झापा, मोरङ, धनकुटा, रामेछाप, सिन्धुपाल्चोक, दोलखामा आकस्मिक बाढीको सम्भावना छ।
यस्तै, स्याङ्जा, रुकुम पश्चिम, जाजरकोट, दाङ, सल्यान, बझाङ र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
